पार्टी निकायलाई परिपत्र गरेर कांग्रेसका महामन्त्रीहरूले भनेका ४ कुरा

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिले पार्टीको प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिहरूलाई परिपत्र गर्दै विभिन्न विषयमा जानकारी गराएको छ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेले सोमबार पार्टीका निकायहरूलाई परिपत्र गर्दै मुख्य गरी ४ विषयमा जानकारी गराएका छन्। 

SHIKHAR COOL TECH

पहिलो, विशेष महाधिवेशनसँग सम्बन्धित विषय छ।

दोस्रो, पार्टी एकताबद्ध रहन अपिल गरिएको छ।

तेस्रो भने फागुन २१ को आमनिर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिएको र जिताउन परिचालन हुन भनिएको छ।

र चौंथो, प्रधानमन्त्रीको भावी उम्मेदवारको विषय छ। हालै बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार बनाएर जाने निर्णय गरेको थियो।

साथै उनीहरूहरूले विशेष महाधिवेशन विधि विधानले प्रधानता पाएको भन्दै यो जय पराजयको विषय नरहेको उल्लेख गरेका छन्।

‘अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकताबद्ध रहौं। विश्वास र भरोसा राखौं, अब कांग्रेस नवीन उर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ,’ परिपत्रमा भनिएको छ, ‘रिफर्मको यात्रा सुरू भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अगाडि बढ्नु पर्ने बेला आएको छ।’

विशेष महाधिवेशनबाट गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति आएको थियो।

साथै उनीहरूले निवर्तमान सभापति शेरबहादुर देउवालगायत विभिन्न तह र निकायमा रहेकाबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिइएको पनि उल्लेख गरेका छन्।

यस्तो छ परिपत्र;

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १७ (२) बमोजिम पार्टीका २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरी २०८२ पौष २७-३० मा सम्पन्न महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमितिको समेत चयन भई पार्टी नयाँ जोश, जाँगर र हौसलाका साथ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा होमिसकेको व्यहोरा यहाँहरूलाई अवगत नै छ।

विशेष महाधिवेशनमा सहभागी हुनु भएका नहुनु भएका, सहमत हुनु भएका नहुनु भएका सबै नेपाली कांग्रेसमा आबद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई यो अवगत गराउन चाहन्छौं कि यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन कुनै, अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकताबद्ध रहौं। विश्वास र भरोसा राखौं, अब कांग्रेस नवीन उर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरू भइसकेको छ।

अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एकढिक्का भई एकताका साथ अगाडि बढ्नु पर्ने बेला आएको छ। यस परिस्थितिमा नेपाली कांग्रेसलाई आगडि बढाउन पार्टीका श्रद्धेय निवर्तमान सभापति शेरबहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनु भएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने पार्टीले विश्वास लिएको छ।

नेपाली कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै होइन, आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देशभित्र र बाहिर रहेका लाखौ शुभेच्छुकजनहरूप्रति नेपाली कांग्रेस विशेष आग्रह गर्न चाहन्छ- नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ, आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ- अब कांग्रेस बदलिएको छ, बदलिने छ।

नेपाली कांग्रेस नवीन अध्यायमा प्रवेश गरेको यस ऐतिहासिक घडीमा नवीन संकल्पका साथ अघि बढ्नु आजको प्रमुख आवश्यकता हो। तसर्थ, यसअघि विभिन्न कारणबाट अलग हुनु भएका विभिन्न राजनीतिक समूहमा क्रियाशील रहनु भएका, निष्क्रिय रहनु भएका, अन्यायको महसुस गर्नु भएका, देश विदेशमा रहनु भएका सम्पूर्ण साथीहरूलाई आफ्नो आँगनमा फर्किनका लागि आ-आफ्ना तहबाट विनम्रतापूर्वक आग्रह गर्नु होला।

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ माघ ९ गते सम्पन्न बैठकले सर्वसम्मत् रूपमा निर्णय गरी पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिसकेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन- २०८२ का लागि पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ जना उम्मेदवार र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना उम्मेदवारहरूको घोषणा गरी निर्वाचनमा पार्टी जुटिसकेको छ।

यसै क्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘केन्द्रीय निर्वाचन परिचालन समिति र प्रवक्ता  देवराज चालिसेको संयोजकत्वमा ‘केन्द्रीय प्रचार प्रसार समिति’ गठन भई कार्य प्रारम्भ भइसकेको छ।

गत भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनपछि परिवर्तित राजनीति परिस्थितको यस कठिन र संवेदनशील घडीमा हामी सबैको उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिवद्धताका साथ अघि बढ्न अत्यावश्यक छ। यो निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गरी पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ-आफ्नो तहबाट कुशलतापूर्वक रणनीतिक तवरले जिम्मेवारी निर्वाह गर्नु पर्ने बेला आएको छ।

“बदल्यौ कांग्रेस, बदल्छौ देश, यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दछौं हामी, हाम्रो केबल एक ध्येय छ- देशको समुन्नति” भन्ने संकल्पका साथ आमनिर्वाचनको यो महाअभियानमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउन सबै तहका साथीहरूलाई परिचालन गर्नुका साथ पार्टीको पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्य गर्नु गराउनु हुन अनुरोध गर्दछौं।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार