भन्सार विभागले सातौं भन्सार सुधार रणनीतिको तयारी गरेको छ।
आगामी वर्षदेखि क्रमशः लागु गर्नेगरी रणनीति निर्माणको काम भइरहेको छ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले व्यापार सहजीकरण, निजी क्षेत्रमैत्री नीति, समाजको सुरक्षा र पारदर्शी प्रशासनलाई भन्सार सुधारको मुख्य आधार बनाउनुपर्ने बताएका छन्।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले भन्सार सुधारको केन्द्रमा व्यापार सहजीकरण हुनुपर्ने बताए।
‘निजी क्षेत्रले निरन्तर माग गरेका धेरै विषयहरू सुधार गरिएका छन्,’ उनले भने।
तर सुधारसँगै दुरुपयोग रोक्ने तयारी पनि अनिवार्य रहेको उनको भनाइ थियो।
‘राम्रो कामको योजनाको दुरुपयोग रोक्ने तयारी सँगै गर्नुपर्छ,’ उनले भने।
अर्थमन्त्री खनालले भन्सारबाट अर्थतन्त्रलाई उत्पादनशील बनाउने योजना प्राथमिकतामा हुनुपर्ने बताए।
‘प्राथमिक रूपमा व्यापार सहजीकरण र अर्थतन्त्रलाई उत्पादनशील बनाउने योजना भन्सारबाट हुनुपर्छ,’ उनले भने।
आगामी दिनमा अवैध सामान रोक्ने, समाजको सुरक्षा गर्ने र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र विकास गर्ने नीति लिइने उनले स्पष्ट पारे।
रणनीति स्पष्ट नहुँदा निर्णय प्रक्रिया कमजोर हुने भन्दै उनले भने, ‘समयमै निर्णय नहुनु पनि समस्या हो, रणनीतिले क्लियर दिशा दिनुपर्छ।’
अर्थसचिव घनश्याम उपाध्यायले भन्सारलाई केबल राजस्व संकलन गर्ने निकायको रूपमा नहेर्न आग्रह गरे।
‘भन्सार केवल राजस्व संकलनको माध्यम होइन, यो राज्यको उत्पत्ति र अन्तर्राष्ट्रिय सिमानासँग जोडिएको इतिहास हो,’ उनले भने।
भन्सारको मूल उद्देश्य व्यापार सहजीकरण भएको उनको भनाइ थियो।
‘व्यापार सहजीकरण गर्दै समाजलाई जोखिमबाट सुरक्षित राख्नु र आर्थिक वृद्धि तथा उद्यमशीलता विकासमा योगदान दिनु नै भन्सारको मुख्य उद्देश्य हो,’ उनले भने।
उनले भन्सार प्रशासन पारदर्शी र वास्तविक हुँदा अन्य राजस्व क्षेत्र पनि बलियो हुने बताए।
‘भन्सार जति पारदर्शी हुन्छ, त्यति नै मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क पनि उत्पादक हुन्छन्,’ उनले भने।
वाणिज्य सचिव रामप्रसाद घिमिरेले भन्सार ऐन कार्यान्वयन दीर्घकालीन सुधारको आधार भएको बताए।
‘भन्सार प्रशासन आपूर्ति शृङ्खला व्यवस्थित गर्ने निकाय हो,’ उनले भने।
छिटोछरितो जाँचपास, भौतिक परीक्षण कम गर्ने र पारवहन लागत घटाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।
‘प्रक्रियामा धेरै समय खर्च गर्ने प्रवृत्ति हटाउनुपर्छ,’ उनले भने।
महालेखा नियन्त्रक शोभकान्त पौडेलले भन्सार प्रशासन डर र पक्षपात बिना काम गर्नुपर्ने बताए।
‘प्रक्रिया र प्रविधिमा शुद्धता, कार्यशैलीमा छिटो छरितोपन र आचरणमा इमानदारिता अनिवार्य छ,’ उनले भने।
भन्सारको दक्षताले व्यापार लागत घटाउने र लगानी बढाउने उनले बताए।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सर्वपक्षीय सुझावका आधारमा सुधार अघि बढाइएको बताए।
‘निजी क्षेत्र, अभिकर्ता, यात्रु र भन्सार प्रशासनबीच समन्वय गरेर व्यापार सहजीकरण, समाज सुरक्षा र राजस्व संकलन गरिएको छ,’ उनले भने।
उपमहानिर्देशक भरतमणि पाण्डेले अवैध व्यापार नियन्त्रण र व्यापार सहजीकरण सँगसँगै अघि बढाइएको बताए।
‘व्यापार सहजीकरणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिएको छ,’ उनले भने।
अर्का उपमहानिर्देशक अमृत लम्सालले भन्सार सुधार आर्थिक विकाससँग जोडिएको विषय भएको बताए।
‘व्यापार सहजीकरण, समाजको सुरक्षा र राजस्व संकलन भन्सारका मुख्य काम हुन्,’ उनले भने।
डिजिटल भुक्तानी, जोखिम व्यवस्थापन र व्यापार लागत घटाउने योजनाअनुसार काम भइरहेको बताए।





प्रतिक्रिया दिनुहोस्