कैलालीः कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनको किनारमा उत्खनन् गर्नेको संख्या बढेको छ । नदी किनारबाट करिब पाँचसय मिटर पर जानकी गाउँपालिकाले ढुङ्गा, गिट्टी, बालुवाका ठेक्का लगाए पनि किनारमै उत्खनन् भइरहेको छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट गत वर्ष मात्र बोल्डर (ठूला ढुङ्गा) हालेर सुरक्षित बनाएको वनको किनारमा दैनिक सयौंको सङ्ख्यामा ट्याक्टरमा बालुवा उत्खनन् गरेर लैजाने गरिएको छ । यस क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले बनाएको तटवन्ध भत्किएपछि नदीको बेग रोक्न बोल्डर खसालेर रोकथाम गरिएको हो ।
हिउँदमा पानी घटेका बेला यहीनेर बालुवा उत्खन्न भइरहेको छ । उत्खन्नका क्रममा पुरानो तटवन्धमा तारजालीमा भरिएका ढुङ्गा निकालेर लैजाने गरिएको छ भने त्यहाँ खसालिएका बोल्डरमूनि उत्खनन् जारी छ ।
यहाँबाट उत्खनन् भइरहेका बालुवाको कैलाशेश्वर सामुदायिक वनले प्रवेश शुल्क र ढुङ्गा गिट्टीको ठेकेदार कम्पनी एसआर निर्माण सेवाले रोयाल्टी सङ्कलन गरिरहेका छन् । जानकी गाउँपालिकाका राजस्व शाखाका प्रमुख गङ्गा चौधरीले केहीदिन अघिसम्म अनुगमन भइरहेको, पछिल्ला दिनमा ठेक्का नलगाएकै ठाउँमा उत्खनन् भएको गुनासो आएको बताए।
नजिकै कार्यालय रहेको कैलाशेश्वर वनका अध्यक्ष खडकबहादुर शाहले आफूलाई त्यसबारे जानकारी नभएको र रोक्न लगाउने बताए। ढुङ्गा गिट्टीको अवैध उत्खनन् रोक्न जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र नजिकका वन कार्यालय र उपभोक्ता संस्थाको जिम्मेवारी भए पनि सबै पक्ष बेखबर रहेका छन् ।
स्थानीय अमर रिमाल तल्लो तटमा भइरहेको विकास पूर्वाधारका संरचना र बस्ती सुरक्षित गर्न नदीमा तटवन्ध बनाए पनि यहाँ भइरहेको उत्खनन्ले जोखिम निम्त्याउने बताए।





प्रतिक्रिया दिनुहोस्