भदौ २३ को जेनजी आन्दोलन एउटा अकल्पनीय घटना थियो। क्षणभरमा देश नै क्षत-विक्षत बन्यो, चकमन्न भयो। सबै कुरा शून्यतामा गयो। राज्यका कुनै पनि अङ्गहरूले काम गर्न सकेनन्, कोमामा गएको अवस्था भयो। सरकार रहेन। सुरक्षा थिएन भनेपछि कोही पनि सुरक्षित हुन सक्ने अवस्था रहेन।
प्राकृतिक विपत्तिजस्तो एक्कासि अप्रिय अवस्था आइपर्यो। भताभुङ्ग र लथालिङ्ग भयो अवस्था। नागरिक अन्योल बने। यति लामो इतिहास बोकेको सार्वभौम देश त्यसरी एक झोक्कामा अस्तित्वहीन होला भन्ने सोच कुनै नागरिकमा थिएन। नागरिकहरूका लागि पनि एउटा आश्चर्यको विषय बन्यो।
त्यो एउटा विषम परिस्थिति थियो, जुन बेला सुरक्षाकर्मीको भूमिका अहम् हुनुपर्थ्यो। तर सुरक्षा अङ्ग नै शिथिल बनेको पाइयो। सुरक्षा दिन सक्ने अवस्थामा ऊ थिएन। बरु सुरक्षाकर्मी आफैँ नै आक्रमणको निशानामा परे। हातहतियारहरू मात्र होइन कि शरीरमा लगाइएको बर्दीसमेत खोसियो।
आन्दोलनकारीका तर्फबाट उनीहरूमाथि निर्ममतापूर्ण भौतिक आक्रमण भयो। सबैभन्दा अग्रभागमा रहने नेपाल प्रहरी एकदमै बढी मर्माहत बन्यो। निरीह बन्यो। आन्दोलनकारीहरू निर्बाध रूपमा उनीहरूमाथि हाबी भए। सुरक्षाकर्मीले हस्तक्षेप गर्न सकेन मूकदर्शक मात्र बन्यो। जसका कारण देशले ठुलो भौतिक तथा मानवीय क्षति बेहोर्नु पर्यो। राज्यका महत्त्वपूर्ण अङ्ग र निकायहरू जलेर खरानी भए। सरकारी तथा निजी संरचनाहरू ध्वस्त भए।
आक्रमणको निशानामा पर्नुले सुरक्षाकर्मीले ठुलो मानवीय र भौतिक नोक्सान भोग्नुपर्यो। यति मात्र होइन, उनीहरूमाथि परेको मनोवैज्ञानिक असर झन् ठुलो क्षति हो। आत्मविश्वास खस्केको कारण कमजोर बन्यो सुरक्षाकर्मी। आक्रमणले त्रसित र खण्डित बनेको सुरक्षाकर्मी शान्ति सुरक्षा कायम राख्न पनि सकेन। एक हिसाबमा एउटा अस्तित्वहीन शक्तिजस्तो बन्यो। हिजो उनीहरू जुन आत्मविश्वास र मनोबलका साथ सुरक्षामा खटिन सक्थे, आजको अवस्था बिलकुल फरक थियो। इतिहासका विभिन्न कालखण्डमा भएका उतारचढावमा पनि अब्बल उत्रेको नेपाल प्रहरी पहिलोपल्ट निरीह बन्यो।
आन्दोलनपछि अवस्थामा एकदम बदलाव भयो। आम नागरिकले सुरक्षाकर्मीको खोजी गर्न थाले। सुरक्षाकर्मी पनि ड्युटीमा त फर्किनु नै थियो, फर्किए। तर उनीहरूको अवस्था भने वास्तवमै टीठलाग्दो देखिन्थ्यो। जुन दृश्यले नागरिकको मन पक्कै दुखेको हुनुपर्छ। सुरक्षाकर्मी यसको मौलिक अवस्थामा थिएन। सामान्य अवस्थासम्म पनि थिएन। पेसागत आफ्नो अस्तित्व र परिचयसमेत गुमेको थियो। बिना बर्दी र हतियार आम नागरिकजस्तो सडकमा उभिएको थियो। खेतमा राखेको बुख्याचाजस्तो मात्र थियो। न हातहतियार न बर्दी।
जसरी हिजो सुरक्षाकर्मीमाथि आक्रमण गरे पनि असुरक्षा भएपछि फेरि नागरिकले तिनै नागरिकले सुरक्षाकर्मी आ–आफ्नो टोलमा स्थापित गर्न थाले। सुरक्षाबिना समाजमा बस्न सक्ने अवस्था रहेन। समाजमा डर त्रास फैलियो। सबै नागरिक आतङ्कित भए। उक्त कुरा महसुस गरी नागरिकले उनीहरूको पुनर्स्थापना गर्न थाले। भत्केका, जलेका प्रहरी पोस्टहरू निर्माण गरी फूलगुच्छा सहित स्वागत गरियो।
जेनजी आन्दोलनको एउटा दृष्टान्तले पक्कै पनि सुरक्षाकर्मीप्रतिको दृष्टिकोण र विचार बदलिएको हुनुपर्छ। सरकार र सम्बन्धित निकायको पनि पर्याप्त ध्यान पुगेको अपेक्षा गर्न सकिन्छ। वास्तवमा सुरक्षा भन्ने विषय आफैमा पनि गम्भीर पक्ष हो। प्रत्येक नागरिकलाई सर्वप्रथम शान्ति सुरक्षा चाहिन्छ, अनि मात्र अन्य आधारभूत कुराहरू। यसको आशय भनेको बाँच्नको लागि सुरक्षा पहिलो आवश्यकता हो। राज्यको दायित्व पनि हो।
नागरिकले राज्यबाट सुरक्षाको अपेक्षा राखिरहँदा हिजो जेनजी आन्दोलनमा जसरी प्रहरीहरूको हुर्मत लिने काम भयो, यसको गम्भीर समीक्षा हुनु जरुरी छ। यसले गम्भीर प्रश्न पनि उठाएको छ। जसरी सुरक्षाकर्मी निरीह र अस्तित्वहीन बने जसले सुरक्षा रणनीतिमा गम्भीर असर पारेको छ। नागरिकले सुरक्षाकर्मीमाथि हमला गर्ने, गाली बेइज्जती र अपमान गर्ने नागरिकको क्रियाकलापले निश्चित रूपमा सुरक्षा र सुरक्षाकर्मी बलियो बन्न सक्दैन।
सडक, भीड अनि जताततै सुरक्षार्थ प्रहरी खटिन्छ। नागरिकको धक्कामुक्की, लाठामुङ्ग्री मात्र होइन लात्ती मुड्कीदेखि ढुङ्गामुढासम्म सामना गर्नुपर्छ। नागरिकको हेलाहिंसाको शिकार पनि हुनुपर्छ। यति भइरहँदा पनि सुरक्षाकर्मीले शिकायत नगरी नागरिकको सुरक्षा गर्छ। जति अपमानित भए पनि कर्तव्यबाट भाग्ने छुट छैन। सङ्कट जस्तोसुकै भए पनि आफ्नो धर्म निभाउनुपर्ने हुन्छ। शान्ति सुरक्षा मात्र होइन, हरेक आपत्विपत्मा पनि नागरिकमा पुग्नुपर्ने भूमिका रहन्छ चाहे दुर्घटना होस् वा प्राकृतिक विपत्ति निःसर्त खटिनुपर्छ।
लोकतन्त्रमा वाक् स्वतन्त्रता हुन्छ। आम नागरिक आफ्ना माग बोकेर सडकमा आउँछन्। आन्दोलन गर्छन्। स्वाभाविक हुन्छ लोकतन्त्रमा। नागरिकका माग वा असन्तुष्टि सरकार विरुद्ध हुन सक्छन् वा अन्य विषयहरू र नागरिकले सडकबाट आवाज अभिव्यक्त गर्छन्। नागरिकको सुरक्षा खातिर नेपाल प्रहरी, ट्राफिकदेखि सशस्त्र प्रहरी हुन्छन्। सुरक्षाकर्मी सधैँ निष्पक्ष र व्यावसायिक हुन्छ। सुरक्षा केवल उसको धर्म हो। समाज यहीँनेर चुकेको छ। सुरक्षाकर्मी नागरिकको सुरक्षा गर्छ तर नागरिक उनीहरूमाथि भौतिक र अभिव्यक्तिगत हिसाबमा हमला गर्छन्। ‘भाडाका टट्टु, फलानाका कुकुर, डन्ठे, पाल्तु’ जस्ता शब्दद्वारा उनीहरूलाई अपमानित गरिन्छ जसले सुरक्षाकर्मीको आत्मसम्मान र मनोबल पक्कै पनि घट्नेछ।
नागरिकको तर्फबाट यस्तो विचार र दृष्टिकोण राखिनु गलत कुरा हो। यसको असर समाजमा दीर्घकालीन रूपमा रहन्छ। हिजोदेखि नै समाजमा सुरक्षाकर्मीप्रतिको सोच सकारात्मक देखिँदैन। परिणामस्वरूप अवकाशपछि त्यही समाजमा बस्नुपर्छ तर नागरिकको सोचका कारण उनीहरू खुम्चिएर बस्नुपर्ने हुन्छ। सम्मानित भएर बाँच्न पाउने अधिकार पनि नहुन सक्छ। एउटा दृष्टान्त द्वन्द्वकालको लिन सकिन्छ जतिबेला सबैभन्दा पीडा सुरक्षाकर्मीले भोग्नुपर्यो फेरि उनीहरू दुवै नागरिक र विद्रोहीको निशानामा परे। सुरक्षाकर्मी आफ्नो गाउँसमाजमा बस्न सक्ने वातावरण रहेन, साथमा परिवारहरू पनि विस्थापित हुने स्थिति बन्यो। वास्तवमा सुरक्षाकर्मी आफ्नो निजी स्वार्थ र लाभको लागि काम नगरी त्याग र बलिदानीको भावनामा काम गर्छ।
सुरक्षाकर्मी नागरिकको जिउधनको सुरक्षाको लागि राज्यद्वारा खटाइन्छ। सुरक्षाकर्मीले नागरिकको सुरक्षाको लागि काम गर्छ भने नागरिकको पनि दायित्व रहन्छ उनीहरूको हिफाजत गर्ने। नागरिकको साथ र सहयोगबिना सुरक्षाकर्मीले कसरी काम गर्न सक्छ? उनीहरूको मनोबल उच्च राख्न त नागरिकको सकारात्मक र नैतिक साथ चाहिन्छ जसले उनीहरूको आत्मसम्मान उच्च भई काम गर्ने मनोबल बढ्छ। चौबीसै घण्टा ड्युटीमा खटिएको सुरक्षाकर्मी नागरिकको उचित सहयोगबिना भौतिक तथा नैतिक हिसाबमा पनि उभिन सक्दैन।
सर्वप्रथम त हामी नागरिकको दृष्टिकोण बदलिन जरुरी छ जसरी हामी सुरक्षाकर्मीलाई हेर्छौँ। साथै व्यवहारमा पनि परिवर्तन ल्याइनुपर्छ। जेनजी आन्दोलनमा मात्र होइन सामान्यतया सुरक्षाकर्मीप्रति असहिष्णुता र हेयको भावना देखिन्छ। नागरिकले सुरक्षाकर्मीलाई गरिने व्यवहार पनि नकारात्मक देखिन्छन्। अपमान, अपशब्द र नीच तरिकाबाट गरिने व्यवहारका कारण सुरक्षाकर्मीको मनोबलमा एकदम नकारात्मक असर पर्छ। जसरी आन्दोलनमा नेपाल प्रहरीमाथि दुर्व्यवहार भई घर न घाटको जस्तो बनाइयो। हातहतियार र बर्दी-पोसाक पनि लुटियो अनि निर्मम तरिकाबाट भौतिक हमला गरियो। यसकारण सुरक्षाकर्मीमाथि ठुलो आघात पर्यो परिणामस्वरूप आज पनि सुरक्षाकर्मी पहिलेको लयमा फर्किन सकेको छैन।
नागरिक तहबाट यो किसिमको हमला भइरहे सुरक्षाकर्मीले कसरी काम गर्न सक्ला? यदि सुरक्षाकर्मी नागरिकप्रति नकारात्मक भएमा उसले कसरी नागरिक सुरक्षामा भूमिका खेल्ला? यी प्रश्नहरू जटिल छन् यद्यपि यसको समाधानको पक्ष भने सजिलो छ र त्यो भनेको नागरिकको साथ र सहयोग। नागरिकको व्यवहार र बोलीले सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सक्छ। नागरिकको श्रद्धा, विश्वास र सम्मानले मात्र सुरक्षाकर्मीको मनोबल उच्च हुन्छ। देशमा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने सुरक्षाकर्मीप्रति हाम्रो सम्मान र माया हुनुपर्छ। जबसम्म उनीहरूको मनोबल उच्च हुँदैन, हातहतियारले मात्र सुरक्षाकर्मी बलियो हुँदैन। यो एउटा इमान, जवान र पवित्र संस्था हो र हुनुपर्छ अनि मात्र यसले नागरिकको सुरक्षा गर्न सक्दछ।
सर्वप्रथम त नागरिकको दृष्टिकोण बदलिनु आवश्यक छ। यति मात्र होइन व्यवहार पनि बदलिनु जरुरी छ। जसरी सुरक्षाकर्मीप्रति हेयको दृष्टिकोण राखी असभ्य व्यवहार गर्ने, गाली बेइज्जती गर्ने, नकारात्मक टिप्पणी गर्ने गरिन्छ, यस्ता कुराहरू नितान्त नागरिकले गर्नै नहुने व्यवहार हुन्। जो नागरिक सुरक्षामा हरपल सोच्ने र मैदानमा खट्ने काम गर्छन्, नागरिकका तर्फबाट उच्च सम्मानपूर्ण व्यवहार गरिनुपर्छ।
सुरक्षाकर्मीको भूमिका नै निष्पक्षता र इमानदारीको हो भने उनीहरूको पक्षधरता खोजिनु हुँदैन। पेसागत व्यावसायिकता नागरिकले राम्ररी बुझ्नुपर्छ र सम्मान गर्नुपर्छ। सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू प्रति हामी सधैँ आभारी रहनुपर्छ। नागरिक आफू गलत गर्ने अनि सुरक्षाकर्मीले कानुनगत गरेको कुराप्रति आक्रोश पोख्ने र हमला गर्ने होइन। सुरक्षाकर्मी विवादमा ल्याइनु हुँदैन र यदि गलत भएको रहेछ भने पनि कानुनी हिसाबमा समाधान गर्नुपर्छ।
सुरक्षाकर्मी बर्दी लगाएको आधारमा ऊ नागरिकभन्दा फरक छैन। बर्दी मात्र फरक हो। उनीहरू पनि नेपाली नागरिक हुन्। अरू नागरिक समान छन्। पेसागत कर्तव्य अनुसार उसले काम गर्छ। उसको भूमिका व्यक्तिगत र सामाजिक हिसाबमा मूल्याङ्कन गर्नु उचित हुँदैन। कानुनको कार्यान्वयन गर्ने क्रममा उसले खेल्ने भूमिका मात्र हो। कसैप्रति रिसराग राखेर वा प्रतिशोधको भावना राखेर काम गर्ने अधिकार हुँदैन र भूमिका पनि खेल्दैन तर नागरिकले किन प्रहरीमाथि प्रतिशोधको भावना राख्छन्? प्रहरीले खेलेको भूमिकामाथि किन प्रश्न उठ्छ? यो अर्को गम्भीर प्रश्न हो।
सुरक्षाकर्मी न ऊ कुनै विचार बोक्छ न कुनै राजनीतिक दलको पक्ष। पेसागत हिसाबमा केवल आदेश पालना गर्छ। शान्ति सुरक्षा पहिलो प्राथमिकता हो। राज्यले दिएको जिम्मेवारीमा वफादारी देखाउनु हो। शान्ति सुरक्षा बाहेक अन्य भूमिका हुँदैन। तर पटक पटक सुरक्षाकर्मीमाथि दुर्व्यवहार हुन्छ र नकारात्मक धारणा राखिन्छ। नागरिक आन्दोलन होस् वा अन्य कुनै सभा-सम्मेलन होस्, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी निशानामा पर्छन्। नागरिकले सुरक्षाकर्मीको बाध्यताप्रति सहानुभूति राखिँदैन। यो विडम्बना हो। हामी नागरिक किन सुरक्षाकर्मीप्रति यस्तो अपमान राख्छौँ अनि गाली र सराप दिइन्छ। यसले कदापि सुरक्षाकर्मीको मनोबल दर्बिलो हुन सक्दैन। जे जति कुरा उनीहरूले गर्छन्, मात्र सुरक्षाको दायराभित्र गर्छन्। आदेश पालनका हिसाबले गर्छन् तर हामी नागरिक किन उनीहरू प्रति असहिष्णु बनी व्यक्तिगत रूपमा लिने गरिन्छ।
चुनाव नजिकिँदै छ। सुरक्षा चुनौती अहिलेको प्राथमिकता हो। अझ जेनजी आन्दोलनपछि यसै पनि सुरक्षा थ्रेट छ। अर्कोतिर सुरक्षाकर्मीको मनोबल इतिहासमै सबैभन्दा बढी गिरेको अवस्था छ। यस्तो जटिल अवस्थामा नागरिकले सुरक्षाकर्मीप्रति सकारात्मक र सम्मानपूर्ण व्यवहार गर्नुपर्ने हुन्छ। बिना मनोबल सुरक्षाकर्मीले नागरिकको बीचमा काम गर्न सक्दैन। नागरिकको साथ र सहयोगले मात्र काम गर्न सक्ने सकारात्मक ऊर्जा सुरक्षाकर्मीले आर्जन गर्नेछन्।
नागरिकको सम्मानबिना केवल जागिर मात्र यो पेसाको आकर्षण होइन। तलब सुविधाको कसीबाट हेर्दा पनि धेरै आकर्षण देखिँदैन, यद्यपि वर्दीको शान र मानको गर्वका कारण नवजवानहरू यस पेसाप्रति लोभिन्छन्। यसरी नागरिकबाट नै अपमानित र घृणित भइरहने हो भने पेसाप्रति वितृष्णा जाग्नेछ अनि यसको प्रभाव देखिनेछ। सुरक्षाजस्तो संवेदनशील र उच्च प्राथमिकतामा रहेको क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीहरूको उच्च मनोबल कायम राख्न सरकारबाट पनि विशेष व्यवस्था गरिनुपर्छ, साथै नागरिक तहबाट पनि उच्च सम्मान दिने संस्कार बनाउनुपर्छ। विश्वका अरू देशहरूमा सुरक्षाकर्मीको सेवा-सुविधा विशेष हुन्छ र नागरिक तहबाट पनि सम्मानपूर्ण व्यवहार गरिन्छ। यो कुराको मनन गर्नुपर्छ कि आज विश्वमा सुरक्षा चुनौती पहिलो प्राथमिकता बनेको छ। यसकारण पनि सुरक्षाकर्मीप्रति सम्मानपूर्ण व्यवहार गरिनुपर्छ।





प्रतिक्रिया दिनुहोस्