धनगढी , १२ माघ / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरूले चुनावी गतिविधि बढाएका छन् । कैलाली क्षेत्र नम्बर ४ बाट चुनावमा भाग लिनको लागि उम्मेदवारी गर्दा गरेका १५ पार्टीगत उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले चुनावी गतिविधि सुरु गरेका हुन । निर्वाचन हुन १ महिना भन्दा बढी समय बाँकी भए पनि उम्मेदवारहरूले पार्टी भित्रको रणनीति बनाउने कामलाई जोड दिएका छन् ।
सोही क्रममा आइतबार चुनाव लक्षित बसको नेकपा एमाले गोदावरी नगर कमिटीको सातौँ बैठकले ६०१ सदस्यीय नगर स्तरीय मूल परिचालन कमिटी गठन गरेको छ । बैठकले एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा गोदावरी इन्चार्ज खम्म बुढालाई संयोजक र गोदावरी नगर अध्यक्ष सन्तोष सिंहलाई सचिव बनाउने निर्णय गरेको छ ।
कमिटीले एमालेका उम्मेदवार जिताउन, पार्टीको निर्वाचन तयारी, संगठन सुदृढीकरण र मतदाता सम्पर्क बढाउन परिचालन हुने जनाइएको छ । यस्तै एमालेले नगर क्षेत्रमा आफ्नो संगठन विस्तारलाई तीव्र बनाउँदै यूथ भोलेन्टियर फोर्सको संयोजकको जिम्मेवारी ईश्वर बढुवाल लाई दिएको छ ।
एमालेले नगरभित्रका प्रत्येक वडामा यूथ भोलेन्टियर फोर्सका समिति गठन गर्ने जनाएको छ । नेकपा एमालेले कैलाली–४ मा पार्टीका उपमहासचिव लेखराज भट्टलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।
आइतबार नै आफ्ना चुनावी गतिविधि सुरु गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय निर्वाचन सचिवालय स्थापना गरिएको छ । सचिवालयको पार्टीका सह प्रवक्ता रमेश प्रसाईँले उद्घाटन गरेका गरेका थिए । सचिवालयको उद्घाटन गर्दै उनले रास्वपाको जान्नेलाई छान्ने नीति अनुसार अब्बल उम्मेदवार चुनावमा उठाइएको बताए । उनले कैलाली क्षेत्र नम्बर ४ मा जुझारु, शिक्षा सेवी, विद्धत व्यक्तित्व खेमराज कोइरालालाई उम्मेदवार बनाएको बताउँदै यहाँको जित्ने आधार नै उम्मेदवारको चयन भएको बताए ।
उनले उम्मेदवारको विषय र पार्टीको नीतिको विषयमा जनतालाई बुझाउन आवश्यक रहेको बताए । कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाले खेमराज कोइरालालाई उम्मेदवार बनाएको छ । यस्तै कैलाली क्षेत्र नम्बर ४ मा रास्वपाका चुनावी गतिविधि गर्न दीपक ओझालाई निर्वाचन कमान्डर तोकेको छ । ओझा गोदावरी नगर समितिका सभापति हुन । रास्वपाबाट कैलाली – ४ मा खेमराज कोइराला प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।
उम्मेदवारी दिएको दोस्रो दिन देखि चुनावी गतिविधि अगाडि बढाइरहेको नेपाली कांग्रेसले पनि शनिवार कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन लक्षित रणनीति केन्द्रित बैठकले आयोजना गरेको थियो । बैठकले कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन कमान्ड पार्टीका क्षेत्रीय सभापति रहेका वसन्त रोकाया (ललित) लाई दिएको छ ।
बैठकले रोकायाको संयोजकत्वमा क्षेत्रीय मूल निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । कैलाली क्षेत्र नम्बर– ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाको निर्वाचनका लागि गोरख बहादुर विष्ट (आनन्द) उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले पनि चुनावी गतिविधि अगाडि बढाएका छन् । आन्तरिक छलफल गर्ने देखि लिएर चुनावी प्रचार प्रसार अगाडि बढाउन संगठन निर्माण गर्ने काममा उम्मेदवारहरू जुटेका छन् ।





प्रतिक्रिया दिनुहोस्