काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न कठिन हुने उनको भनाइ छ।
७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा आयोजित कार्यक्रममा उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको उल्लेख गर्दै ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए। अर्थतन्त्रलाई टेवा पुग्ने गरी आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै उनले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने विषय प्राथमिकतामा रहेको जानकारी दिए।
निजी क्षेत्रले उठाएका केही माग क्रमशः सम्बोधन हुँदै गएको उल्लेख गर्दै उनले सुधारका प्रारम्भिक चरणमा आलोचना आउनु स्वाभाविक हुने बताए। सुधार निरन्तर चलिरहने प्रक्रिया भएको जनाउँदै त्यसका लागि नेतृत्व तहबाट दृढ पहल आवश्यक रहेको धारणा राखे।
तराईका जिल्लामा लागूऔषध दुव्र्यसनीको समस्या बढिरहेको उल्लेख गर्दै नेपालमा आयातमा प्रतिबन्धित वस्तुहरू कसरी भित्रिरहेका छन् भन्ने प्रश्नसमेत उठाइयो। अन्तरराष्ट्रिय भन्सार दिवसकै अवसरमा उत्पत्तिको प्रमाणपत्र राष्ट्रिय एकद्वार प्रणालीमार्फत मात्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिइयो। अब क्युआर कोडसहितको उत्पत्तिको प्रमाणपत्र अनलाइनमार्फत जारी हुनेछ।
कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले भन्सार क्षेत्रमा केही व्यावहारिक सुधार आवश्यक रहेको बताए। फरक–फरक भन्सार कार्यालयबीच हुने मूल्याङ्कनमा एकरूपता नहुँदा समस्या देखिएको उल्लेख गर्दै अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्नुपर्ने धारणा राखे। भन्सार प्रशासनमा व्यवहारगत सुधार र सदाचार पद्धतिको विकास अपरिहार्य रहेको भन्दै भन्सारको मुख्य उद्देश्य व्यापार सहजीकरण भएको बताए।
महालेखानियन्त्रक शोभाकान्त पौडेलले भन्सार प्रशासन कुनै डर वा प्रलोभनमा चल्नु नहुने बताए। सहज र छरितो सेवा प्रवाहले व्यापार लागत घट्ने उल्लेख गर्दै सुन, केराउ, पेस्तादाना र सुपारीजस्ता वस्तुको अवैध आयातमा भन्सार कर्मचारीको संलग्नता त छैन भन्ने शङ्का गर्ने अवस्था देखिएको धारणा राखे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नयाँ भन्सार ऐन कार्यान्वयनमा आएको र भन्सार डाटाबेस प्रणाली लागू भएको जानकारी दिए। भन्सार प्रशासन राजस्व सङ्कलनको माध्यम मात्र नभई सीमाको सुरक्षा, व्यापार सहजीकरण र आपूर्ति शृङ्खला व्यवस्थापनको महत्त्वपूर्ण निकाय भएको बताए। नयाँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिको मस्यौदा तयार हुँदै रहेकाले छिट्टै स्वीकृत गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
लोकसेवा आयोगका सचिव रामेश्वर दङ्गालले सन्दर्भ मूल्य पुस्तिकाका आधारमा गरिँदै आएको भन्सार मूल्याङ्कनभन्दा कारोबार मूल्यका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था लागू हुनु सकारात्मक भएको बताए। भन्सार प्रशासन क्रमशः व्यवस्थित, स्वचालित र प्रविधियुक्त बन्दै गएको धारणा राखे।
७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार सुधार तथा आधुनिकीकरण योजनाले व्यापार सहजीकरण, राजस्व सङ्कलन र सूचना प्रविधिको प्रयोगमा सकारात्मक प्रभाव पारेको बताए। २०६० सालदेखि योजनाबद्ध रूपमा अघि बढाइएको सुधार कार्यक्रमका कारण अन्तरराष्ट्रिय मापदण्डअनुसारको भन्सार प्रणाली विकास हुँदै गएको जानकारी दिए।
उनका अनुसार विराटनगर भन्सार कार्यालयबाट सुरु गरिएको अनलाइन कस्टम भ्यालुएसन डाटाबेस प्रणाली हाल सबै भन्सार कार्यालयमा लागू भइसकेको छ। पुरानो भन्सार मूल्याङ्कन सन्दर्भ पुस्तिका खारेज गरिएकाले व्यापार लागत घट्ने, पारदर्शिता बढ्ने, वैध व्यापार प्रवद्र्धन हुने र अवैध व्यापार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्