आइतबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा जनप्रतिनिधिहरूले नै मतदान गर्न नजानेपछि मत बदर भएको छ।
जनप्रतिनिधिको मत बदर भएको भने यो पहिलो पटक होइन।
१८ मध्ये तीन जना चुन्नका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा लुम्बिनीका प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुख गरी कुल ३०५ जना मतदाता थिए।
लुम्बिनी प्रदेशमा मतदान गर्ने प्रदेशसभाका ८७ जना मध्ये ४ जनाले राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका छन् भने ४ जना प्रदेशसभा सदस्य मतदानमा भाग लिएनन्।
त्यसै गरी पालिका प्रमुख उपप्रमुख मध्ये १० जनाले मतदानमा भाग लिएनन्। भने त्यसमध्ये लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन भइसकेको छ।
निर्वाचनमा प्रदेश सभाका ७८ र स्थानीय तहका २०७ जना गरी २८६ जना मतदानमा सहभागी थिए।
मतदानमा सहभागी मध्ये महिला क्लस्टरमा मतदान गर्ने २८६ जना मतदाता जनप्रतिनिधि मध्ये ७ जनाले गरेको मतदान बदर भएको छ। मत बदर गर्ने मध्येमा ३ जना प्रदेशसभा सदस्य र ४ जना पालिका प्रमुख उपप्रमुख छन्।
त्यसै गरी अन्य क्लस्टरमा मतदान गर्ने २८६ मतदाता मध्ये प्रदेशसभा सदस्य १ जना र पालिका प्रमुख उपप्रमुख ३ जनाले गरी ४ जनाले मत बदर गरेका छन्।
यसका साथै अपाङ्गता भएकाहरूको क्लस्टरमा मतदान गर्ने मध्ये २ जना प्रदेशसभा सदस्य र ३ जना पालिका प्रमुख उपप्रमुख गरी ५ जनाको मत बदर भएको छ।
जनताबाटै चुनिएका प्रतिनिधिले मतदान गर्न नजानेर मत बदर भएको हो या उनीहरूले जानी जानी मत बदर गरेका हुन्? अहिले चर्चाको विषय बनेको छ।
मतदानमा भाग नलिनेमा नेपाली कांग्रेसका अनुराग खडका र राप्रपा बाट उपसभामुख बनेकी मेनुका खाण केसी, राप्रपाकै मिन कुमारी श्रेष्ठ, आशिषकुमार चौधरी, जानकी प्रसाद यादव छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान बहिस्कार गरेको जनाएको छ।
लुम्बिनी प्रदेशमा कुल मत भार ८,७५३ छ। प्रदेश सभा सदस्यको मत भार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मत भार १९ पुगेको छ। लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन्, जसको मत भार ४,६८१ र १०९ स्थानीय तह प्रमुख–उपप्रमुखको ४,१४२ रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला क्लस्टर बाट उम्मेदवार बनेकी झाँक्रीले ६ हजार ३३० मत भार पाइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन्।
अपांगतातर्फ जंगली ५ हजार ३२२ मत भार प्राप्त गर्दै विजयी भए।
उनका प्रतिस्पर्धी नेकपाका सजन विकले १ हजार ६०१ मत भार ल्याए। अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मत भार प्राप्त गर्दै निर्वाचित भए।
माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए। भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत ल्याए।
लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य रहेका एमालेका गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष समेत रहेकी एमालेकै विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’ को पदावधि आउँदो फागुन २० मा सकिने भएकोले उक्त स्थानका लागि निर्वाचन भएको हो।





प्रतिक्रिया दिनुहोस्