काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरिएको निर्णयप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै खनालले गजुरेललाई स्पष्टीकरण दिने अवसरसमेत नदिई गरिएको कारबाही पार्टीको संस्थागत अभ्यासविपरीत भएको बताएका छन्। साथै, यस्तो महत्वपूर्ण निर्णय पार्टीभित्र पर्याप्त छलफल नगरी गरिएको प्रति उनले आपत्ति जनाएका छन्।
खनालले लेखेका छन्- ‘केही व्यक्तिको इच्छाअनुसार ठूलो निर्णयहरू लिइनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेतामाथि स्पष्टीकरणको मौका नदिई पार्टीबाट निष्कासनजस्तो कठोर कदम चालिनु र पार्टीका विभिन्न घटकका नेताहरूले संस्थागत रूपमा जानकारीसमेत नपाई एकाएक सञ्चारमाध्यमबाट थाहा पाउनु अत्यन्तै आश्चर्यजनक छ।’
उनले उक्त निर्णय तत्काल स्थगन गर्न माग गर्दै पार्टीलाई संस्थागत र सामूहिक निर्णय प्रणालीमा फर्काउन आग्रह गरेका छन्। साथै गजुरेलसहित नेतृत्व तहका नेताहरूको आकस्मिक बैठक बोलाउनुपर्ने खनालको माग छ ।
खनालले संयोजक प्रचण्ड सँग पार्टीभित्र यो घटनाबारे गम्भीर र दोहोरो छलफल गर्न, निर्णय प्रक्रियाको समिक्षा गर्न तथा अधिनायकवादी शैली होइन, सामूहिक नेतृत्व प्रणालीलाई मजबुत बनाउन जोडदार माग गरेका छन् ।
‘यस्ता कदम तत्काल सच्याइएन भने पार्टी एकीकरण पूर्ण नहुँदै विशृंखलातर्फ जाने खतरा पैदा हुनेछ,’ खनालले चेतावनी दिएका छन्। उल्लेखनीय छ, पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा हरिबोल गजुरेलसहित ७ जनालाई नेकपाले निष्कासन गरेको हो । उक्त निर्णयमा पार्टीका संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपाल को हस्ताक्षर रहेको छ ।





प्रतिक्रिया दिनुहोस्