पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत दुई पदका निम्ति गण्डकी प्रदेशमा मतदान जारी छ । आइतबार (माघ ११) बिहानदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो मतदान गरे । यहाँ चार दलका तर्फबाट ६ जनाले उमेदवारी दिएका छन् ।
गण्डकीमा अन्य क्लस्टरबाट जितेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र महिलातर्फ निर्वाचित नेकपा (एमाले)की भगवती न्यौपानेको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिँदै छ ।
गण्डकीमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एक/एक पद लिएका छन् । नेकपा र राष्ट्रिय जनमोर्चाले दुवै क्लस्टरमा उमेदवारी दर्ता गराएका छन् ।
कांग्रेसका प्रा. डा. जगत तिमिल्सिनाले अन्य क्लस्टरमा उमेदवारी दिएका छन् । महिलातर्फ एमालेकी सम्झना देवकोटा उमेदवार बनेकी छन् ।
नेकपाले अन्यतर्फ कपिल लामा र महिला क्लस्टरमा माओवादी द्वन्द्वका क्रममा एउटा खुट्टा गुमाएकी गोमा घिमिरेलाई उमेदवार बनाएको छ ।
जनमोर्चाका तर्फबाट शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटा उमेदवार छन् । अन्यतर्फ उमेदवारी दिएका बराल जनमोर्चाका प्रदेश अध्यक्ष हुन् । महिलातर्फकी उमेदवार बाँस्कोटा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष हुन् ।
स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता रहने यो निर्वाचनमा कांग्रेस–एमालेका उमेदवारले जित्ने निश्चितजस्तै छ ।
राष्ट्रियसभा निर्वाचनका मतदातामध्ये स्थानीय तहका प्रत्येक जनप्रतिनिधिको मतभार १९ हुन्छ । प्रदेशसभा सदस्यको मतभार ५३ हुने व्यवस्था छ । गण्डकीमा ८५ पालिकाका १७० जनप्रतिनिधि र प्रदेशसभाका ५९ सदस्य मतदाता छन् । दीपक मनाङे भने थुनामा छन् ।
गण्डकीको कुल मतभार ६ हजार ३५७ हुन आउँछ । कांग्रेस–एमालेका मतदाताको मतभार पाँच हजार १७९ छ । यो कुल मतभारको ८१ प्रतिशतभन्दा बढी हो ।
गण्डकी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार एक हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार एक हजार २५२ पुग्छ ।
गण्डकी प्रदेशसभामा २२ सांसद रहेका एमालेको मतभार एक हजार १६६ छ । ७० जना स्थानीय तहका जनप्रतिनिधिको मतभार एक हजार ३३० हुन्छ ।
गण्डकीमा नेकपाका सात सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९४१ हुन्छ ।
राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । जनमोर्चाले स्थानीय तहमा चार पद जितेको थियो ।
यहाँ राप्रपासँग १०६ मतभार छ । प्रदेशसभामा राप्रपाका दुई सांसद छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का पनि एक सांसद छन् । उक्त दलको मतभार ५३ हुन्छ ।





प्रतिक्रिया दिनुहोस्