गोरखा २ मा नेकपाका उम्मेदवार लेखनाथ न्याैपानेको उम्मेदवारी फिर्ता गराउने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रयास विफल भएको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका भट्टराईले आफ्नो विजय सुनिश्चित गराउन नेकपाका न्याैपानेको उम्मेदवारी फिर्ता गराउने प्रयास गरेका थिए ।
यसका लागि जिल्ला तहका नेताहरूसँग छलफल गरेका बाबुरामले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई समेत तालमेलका लागि सन्देश पठाएका थिए । तर बाबुरामको प्रस्ताव नेकपाबाट अस्वीकृत भएको प्रचण्ड सचिवालय स्रोतले जानकारी दिएको छ ।
अघिल्लो निर्वाचनमा भट्टराईले आफू विजयी हुँदै आएको गोरखा २ प्रचण्डका लागि छोडिदिएका थिए । बाबुरामले स्थान खाली गरेर सहयोग गरेपछि यहाँबाट प्रचण्ड विजयी भएका थिए । यसपटक भने सुरुमा बाबुरामले नयाँ नेतालाई समर्थन गर्ने भन्दै आफूले चुनाव नलड्ने घोषणा गरेका थिए ।
तर अन्तिम समयमा उम्मेदवारी दर्ता गराएका थिए । त्यसक्रममा उनले राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने जिम्मेवारी आएकोले चुनाव लड्नुपरेको प्रस्टीकरण दिएका थिए । दुई पूर्वमाओवादी नेता भट्टराई र न्याैपाने आपसमै प्रतिस्पर्धा गर्दा परिणाम सहज नहुने ठानेर तालमेलका लागि प्रयास भएको हो । तर नेकपाले बाबुरामसँग तालमेल हुन नसक्ने प्रस्ट पारेको छ ।
‘उहाँ (बाबुराम)ले सहयोगकाका लागि प्रस्ताव गर्नुभएको थियो । तर जिल्लाका साथीहरूले उम्मेदवारी दर्ता गरिसकेकोले अब यस विषयमा थप छलफल गर्ने स्थिति बनेन भनेर जवाफ दिइसक्नुभएको छ’, प्रचण्डनिकट स्रोतले भन्यो ।
स्रोतका अनुसार बाबुरामले नेकपाको चुनाव चिह्न ताराबाटै निर्वाचन लड्ने प्रस्तावसमेत गरेका थिए । उम्मेदवारी फिर्ताका लागि दिउँसोसम्मको समयसीमा छ । निर्वाचन आयोगले आजै साँझ अन्तिम नामावली प्रकाशन गर्दै छ ।





प्रतिक्रिया दिनुहोस्