कैलाली । कैलालीमा चुनावी माहोल तातेको छ । परिवर्तनका लागि भएको जेनजी आन्दोलनले तत्कालीन सरकार र सरकारका मन्त्रीहरुलाई अपदस्थ पारेपछि फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । देशभरबाट युवाशक्तिका रुपमा रास्वपा उदाएको छ र पूर्वदेखि पश्चिमसम्मै घण्टी बजाउने तयारी गरिरहेको छ ।
यहीबीच कैलाली निर्वाचन क्षेत्र नम्बर-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. आनन्द बहादुर चन्दले उम्मेदवारी दिएका छन् । उनै चन्द अहिले मतदाता रिझाउन घरदैलो अभियानमा सक्रिय छन् ।
घरदैलो अभियानकै क्रममा बिहीबार फरक दृश्य देखियो । मतदाता भेट्दै भेट्दै डा. चन्द धनगढी-५ तारानगर पुगे । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद गौरव जोशीको घरमा पुगे । उनको भेट गौरवकी आमासँग भयो ।
रास्वपाबाट घण्टी चुनाव चिन्ह लिएर भोट माग्दै हिँडेका चन्द र गौरवकी आमा एक्कासी भेटिँदा केहीबेर माहोल शान्त बन्यो ।
तर, मौनतालाई चिर्दै गौरवकी आमाले रास्वपा उम्मेदवार चन्दलाई चुनावका लागि शुभकामना दिइन् । उनले चन्दलाई शुभकामना मात्र दिइनन्, जितपछि देश बनाउनु भन्दै आशिर्वादसमेत दिइन् । ‘हामीले छोरो गुमाएका छौँ । छोरो जे कुराका लागि आन्दोलनमा गएको थियो, त्यो पूरा गरिदिनु होला ।’, उनले भनिन, ‘देश बनाउनु होला ।’
प्रतिउत्तरमा चन्दले आफू र आफ्नो पार्टीको उद्धेश्य देश बनाउनु र जेनजीका माग पूरा गर्नू भएको भन्दै गौरव लगायत जेनजी आन्दोलनमा सहिद भएकाहरुको सपना पूरा गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्