काठमाडौँ । आउँदो २१ फागुनमा हुने निर्वाचनमा नेपाली कला क्षेत्रको सक्रियता लोभलाग्दो देखिएको छ। सुशासन र देश निर्माणको नारा बोकेर थुप्रै कलाकर्मी प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार बनेका छन्। अधिकांश कलाकर्मी राजनीतिक दलबाट नै उम्मेदवार बनेका हुन्।
चर्चित अभिनेत्री निशा अधिकारी प्रत्यक्षतर्फको उम्मेदवार बनेकी छन्। उनले काठमाडौँ–५ मा गतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। उक्त दलकी केन्द्रीय सदस्यसमेत रहेकी निशाको अबको १० वर्ष देशप्रति समर्पित हुने योजना छ। उनले ‘वडा वडामा दिगो रोजगारी’ को मुद्दा अघि सारेकी छन्।
अभिनेत्री तथा सामाजिक अभियन्ता आशिका तामाङ पनि धादिङ–१ बाट प्रत्यक्ष उम्मेदवार बनेकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। राजनीति मार्फत क्षेत्र र देशको सेवा गर्न उम्मेदवार बनेको उनले बताउँदै आएकी छन्। दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा आफू अघि बढ्ने उनी बताउँछिन्, तर उम्मेदवार भने रास्वपाबाट बनेकी छन्।
र्यापर तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाह पनि झापा–५ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्। उनी रास्वपाका तर्फबाट उम्मेदवार बनेका हुन्। काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट जितेका उनी रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवार पनि हुन्।
लोकप्रिय प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक उम्मेदवार बनेकी छन्। सुरुमा कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी उनी, उज्यालो र रास्वपा एकता हुँदा दलित महिला क्लस्टरबाट उम्मेदवार बनेकी थिइन्। अहिले उज्यालो र रास्वपाको एकता तोडिए पनि उनी रास्वपा नै छिन्। यही कारण उनलाई अवसरवादी भनेर आलोचना पनि भइरहेको छ।
त्यस्तै, लोकप्रिय गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत पनि समानुपातिक उम्मेदवार बनेका छन्। उनी रास्वपाको दलित पुरुष क्लस्टरबाट समानुपातिक उम्मेदवार बनेका हुन्। ‘बोलमाया’ र ‘गलबन्दी’ गीतबाट स्थापित भएका सपुतका ‘सकम्बरी’, ‘मेरो पनि होइन र यो देश’, ‘दमाई महाराज’, ‘बुझिनँ मैले’ लगायत गीत लोकप्रिय छन्। सङ्गीत क्षेत्रमा फरक पहिचान बनाएका सपुत फिल्म अभिनेता तथा निर्देशक समेत हुन्। करिब आधा दर्जन फिल्ममा अभिनय गरेका उनले फिल्म ‘वसन्त’ निर्माण तथा निर्देशन गरेका थिए।
पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ रास्वपाबाट समानुपातिक उम्मेदवार बनेकी छन्। उनी आदिवासी जनजाति महिला क्लस्टरबाट समानुपातिक सूचीमा समेटिएकी हुन्। अहिलेसम्म उनी रास्वपामा रहेको कहीँकतै चर्चा थिएन, तर उनको नाम सूचीमा भने समेटिएको छ।
उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१९’ मा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनी उत्कृष्ट १२ भित्र पर्दै ‘मिस वर्ल्ड ब्युटी विथ पर्पस’ र ‘मल्टिमिडिया’ को उपाधि नेपाल भित्र्याउन सफल भएकी थिइन्। श्रेष्ठ व्यवसायी पनि हुन्। उनी ‘माक्कुसे’ लक्जरी मिठाई ब्रान्डकी सञ्चालक हुन्। यो ब्रान्डले पुष्टकारी, गुँदपाक र कुकिज उत्पादन गर्छ।
गायिका तथा एमाले नेत्री कोमल वली पनि समानुपातिक उम्मेदवार बनेकी छन्। उनलाई नेकपा एमालेले समानुपातिक उम्मेदवार बनाएको हो। गत निर्वाचनमा दाङ–३ बाट प्रत्यक्ष उम्मेदवार बनेकी उनले पराजय बेहोरेकी थिइन्। उनी राष्ट्रिय सभाकी पूर्वसांसद पनि हुन्।
लोकगायक रमेश प्रसाईं पनि समानुपातिकतर्फको उम्मेदवार बनेका छन्। उनी रास्वपाको खस–आर्य पुरुषतर्फबाट समानुपातिक उम्मेदवार बनेका हुन्। यसअघि कुनै राजनीतिक दलमा नदेखिएका प्रसाईं गायन र विभिन्न राजनीतिक टिप्पणीका कारण चर्चामा रहँदै आएका थिए।
लाइभ लोकदोहोरी गायनमा माहिर मानिएका प्रसाईंको लोकदोहोरी गीतका साथै पछिल्लो समय ‘रिङ्केबुङको राँगो’ बोलको गीत चर्चामा छ। प्रसाईं सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन्।
- कलाकर्मी उम्मेदवार: कुन दलबाट कति ?
यो पटकको निर्वाचनमा कलाकर्मी समानुपातिक र प्रत्यक्ष दुवैतर्फ उम्मेदवार बनेका छन्। तर, उनीहरूलाई समेट्ने काम भने केही सीमित राजनीतिक दलले मात्र गरेका छन्। नेकपा एमाले, रास्वपा, गतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टीले मात्र कलाकर्मीलाई उम्मेदवारका रूपमा समेट्ने काम गरेका छन्।
प्रत्यक्ष होस् वा समानुपातिक, सबैभन्दा धेरै कलाकर्मीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ। रास्वपाले प्रत्यक्षतर्फ र्यापर बालेन शाह र अभिनेत्री आशिका तामाङलाई उम्मेदवार बनाएको छ भने समानुपातिकतर्फ गायक तथा अभिनेता प्रकाश सपुत, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र गायक रमेश प्रसाईंलाई बनाएको छ।
त्यस्तै गतिशील लोकतान्त्रिक पार्टीले चर्चित अभिनेत्री निशा अधिकारीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। नेकपा एमालेले गायिका कोमल वलीलाई समानुपातिक उम्मेदवार बनाएको छ। कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीले प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मालाई उम्मेदवार बनाएको थियो। उज्यालो र रास्वपा एकता हुँदा उनी उज्यालोबाट समानुपातिक उम्मेदवार बनेकी थिइन्। उज्यालो र रास्वपा एकता तोडिए पनि उनी रास्वपामै रहिन्।
देशको ठुलो राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (माओवादी/समाजवादी) ले भने प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ कलाकर्मी समेट्न सकेका छैनन्। नेकपाले समेट्न नसक्नु त सामान्य भयो, तर देशको सबैभन्दा पुरानो, ठुलो, प्रजातान्त्रिक र सबैभन्दा धेरै कलाकर्मी भएको पार्टी नेपाली कांग्रेसले कलाकर्मीलाई समेट्न नसक्नुलाई सामान्य मान्न सकिन्न।
अझ नेपाली कांग्रेसमा युवा नेतृत्व आउँदा पनि कलाकर्मी नसमेटिनु दुःखद कुरा भएको नेपाली कांग्रेस निकट कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघका पूर्वमहामन्त्री गणेश सुवेदी बताउँछन्।
‘कांग्रेसले विगतदेखि नै कलाकर्मीलाई उपेक्षित गर्दै आएको छ। अहिलेको युवा नेतृत्वले त्यसमा ध्यान दिन्छ कि भन्ने सबै सांस्कृतिकर्मीहरूको अपेक्षा थियो,’ सुवेदीले भने, ‘यो पटक त्यसतर्फ ध्यान पुग्न सकेन। भविष्यमा नेतृत्वले त्यसतर्फ ध्यान पुर्याओस् भन्न चाहन्छु।’




प्रतिक्रिया दिनुहोस्