काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सङ्घीय राजधानी काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गरी कुल ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार मतदाताहरूमा महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी रहेको छ। जसमा ३ लाख ६४ हजार महिला, ३ लाख ४६ हजार ११६ पुरुष र ७ जना अन्य मतदाता रहेका छन्।
निर्वाचनलाई व्यवस्थित बनाउन जिल्लाभर ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएका छन्। जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँ क्षेत्र नं. २ जिल्लाकै सबैभन्दा धेरै मतदाता भएको क्षेत्र बनेको छ, जहाँ ८८ हजार ७०८ मतदाता रहेका छन्। सबैभन्दा कम मतदाता भने क्षेत्र नं. १ मा ४८ हजार ८४९ जना रहेका छन्।
यसपटक काठमाडौँका १० वटा सिटका लागि कुल २५७ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। सबैभन्दा बढी उम्मेदवार क्षेत्र नं. १ मा ३० जना रहेका छन् भने क्षेत्र नं. २, ६ र ८ मा सबैभन्दा कम २२/२२ जना उम्मेदवार बीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचन आयोगले मतदान केन्द्रहरूमा सुरक्षा र व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको छ।





प्रतिक्रिया दिनुहोस्