धनगढी । बझाङमा ‘बा–आमालाई फोन गरेर सम्झाउँ’ अभियान सुरु भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शैलेश सिंहले उक्त अभियान सञ्चालन गरेका हुन् ।
अभियान अन्तर्गत बझाङ बाहिर वा विदेशमा रहेका युवा तथा बझाङबासीलाई घरमा आफ्ना बा–आमालाई फोन गरेर मतदानमा सक्रिय सहभागी हुन र सही उम्मेदवार छान्न आग्रह गर्न प्रेरित गरिएको छ ।
विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेका मतदातालाई लक्षित गर्दै यो अभियान अघि बढाइएको उम्मेदवार सिंहले बताएका छन् ।
उनका अनुसार बझाङमा धेरै मतदाता उच्च शिक्षाका लागि जिल्ला बाहिर र वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । त्यही कारण घरमा रहेका बा–आमाको निर्णय निर्वाचनमा महत्वपूर्ण हुने गरेको छ । ‘हामी युवाहरू आफैं मतदान गर्न नपाए पनि घरमा रहेका बा–आमालाई सचेत गराउन सक्छौं’, सिंहले भने, ‘फोनमार्फत सचेतना फैलाएर परिवर्तनको मत सुनिश्चित गर्नु नै अभियानको उद्देश्य हो ।’
अभियानले पुरानो राजनीतिक प्रवृत्तिबाट मुक्त भएर सुशासन, पारदर्शिता र विकासका एजेन्डामा आधारित मतदान गर्न अभिभावक वर्गलाई आग्रह गर्ने लक्ष्य लिएको सिंहले बताएका छन् । उक्त अभियानले मतदाता सचेतना बढाउनुका साथै निर्वाचनमा सहभागिता र सकारात्मक परिवर्तनको सन्देश फैलाउने विश्वास लिइएको सिंहको भनाई छ ।




प्रतिक्रिया दिनुहोस्