अत्तरिया: कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । सेभ हाउसको अक्षयकोष स्थापनार्थ माघ २६ देखि फागुन ३ गते सम्म महायज्ञ आयोजना गर्न लागिएको हो ।
बुधबार सेभ हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासीले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट संकलन भएको रकमबाट अक्षयकोष बनाएर त्यसको ब्याजबाट आएको रकमले सहज होला भन्ने उद्देश्य रहेको बताइन् । उनले हाल पदमा अस्पतालले उपलब्ध गराएको भवनमा निःशुल्क रुपमा बसेको भएपनि अन्य खर्च व्यवस्थापनमा निकै समस्या भएको बताइन् ।
उनले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोग गरिदिन आग्रह गरीन । सेभ हाउमा हाल ४६ बालबालिका र २ जना महिला भएको र आउने जाने क्रम जारी रहने बताइन् । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका मुख्य कथावाचक पुज्या देवी सुमी मानव रहेको जनाइएको छ । महायज्ञका आर्थीक संयोजक डा. नर बहादुर मौनीले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि तयारी भइरहेको बताए । संस्थाका संरक्षक समेत रहेका उनले संस्था सञ्चालन गर्न आर्थिक कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै सोही कारण महायज्ञको योजना बनाइएको बताए । उनले महायज्ञलाई सफल बनाउन सबै धर्मप्रेमी तथा सहयोगी हातहरूलाई साथ दिन आग्रह समेत गरे ।
महायज्ञको अवसरमा माघ २६ गते शोभा (कलश) यात्रा निकालिनेछ । यस्तै माघ २७ गतेदेखि फागुन ३ गतेसम्म पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना हुने आयोजकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्