लामो समयदेखि पत्रकारितामा सक्रिय ऋषि धमला यस पटकको निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन्।
धादिङका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन्।
रौतहट-३ बाट २०६४ देखि चुनाव जित्दै आएका साहको रौतहटका अन्य क्षेत्रमा पनि धेरथोर प्रभाव रहनु स्वाभाविक हो। २०६४, २०७० र २०७४ को चुनावमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट विजयी भएका साह २०७९ मा भने स्वतन्त्र उमेदवार बनेका थिए।
एमाले र माओवादीबीच एकता भंग भएपछि साह एमालेमै रहेका थिए। एमालेको स्थायी कमिटी सदस्य समेत रहेका साहले २०७९ को निर्वाचनमा एमालेबाट टिकट लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए। यसले एमाले उम्मेदवार विहीन बनेको थियो।
साहकी श्रीमती रिनाकुमारी साह मौलापुर नगरपालिकाकी मेयर समेत हुन्। मौलापुर नगरपालिकाका वडाहरू रौतहट क्षेत्र नम्बर २ र ३ मा पर्छन्।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा साह एमालेमा थिए भने मंसिरमा भएको संघीय निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
त्यसैले आम जनता पार्टीका लागि यो पहिलो निर्वाचन हो।
अब धमला उम्मेदवार बनेको रौतहट-४ को चुनावी विश्लेषण गरौं—
रौतहट-४ एउटै नेताले दोहोर्याएर चुनाव नजित्ने क्षेत्रका रूपमा परिचित थियो। तर २०७४ र २०७९ मा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी भएपछि यो रेकर्ड पनि तोडिएको थियो।
२०७९ को निर्वाचनमा तिमिल्सिनाले एमालेका उद्धवप्रसाद रेग्मीलाई पराजित गरेका थिए। तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी सहितको समर्थनमा तिमिल्सिना विजयी भएका थिए।
तिमिल्सिनाले ३४ हजार १६१ मत ल्याएका थिए भने रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरेका थिए।
२०७४ मा तिमिल्सिना एक्लैलै बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका डा. वंशीधर मिश्रलाई हराएका थिए। त्यो बेला तिमिल्सिनाले २८ हजार २२८ मत ल्याएका थिए भने मिश्रले २३ हजार ६ मत पाएका थिए।
२०७९ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले नै सबभन्दा धेरै १४ हजार २१८ मत ल्याएको थियो।
एमालेले ११ हजार २३१ मत ल्याएको थियो। तेस्रो बनेको नेकपा माओवादी केन्द्रले ९ हजार ३१९ मत ल्याएको थियो। चौथोमा रहेको नेकपा एकीकृत समाजवादीले ९ हजार १७९ मत पाएको थियो।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालले ६ हजार २०८ र रास्वपाले ५ हजार ७०७ मत ल्याएको थियो।
गत निर्वाचनमा यो क्षेत्रको समानुपातिकतर्फ तेस्रो भएको माओवादी केन्द्र र चौथो भएको एकीकृत समाजावादी मिलेर अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ। त्यतिबेला प्राप्त भोटलाई आधार मान्ने हो भने नेकपाको मत सर्वाधिक हुन्छ।
२०७९ को निर्वाचनमा प्रभु साह स्वतन्त्र उम्मेदवार बनेकाले उनका समर्थकको केही भोट समानुपातिकतर्फ माओवादीलाई गएको हुन सक्छ। किनभने, माओवादीले रौतहट-३ मा प्रभु साहलाई सघाएको भनेर प्रचार गरिएको थियो।
यो निर्वाचनमा आम जनता पार्टीका धमलासँगै रौतहट-४ बाट यसअघि दुई पटक विजयी भएका कांग्रेसका तिमिल्सिना छन् भने एमालेबाट रामजी साह छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमार भट्टराई छन्। भट्टराईले २०७० मा एमालेबाट चुनाव जितेका थिए।
यहाँ रास्वपाबाट गणेश पौडेल उमेदवार छन्। यो क्षेत्र पूर्व-पश्चिम राजमार्गमा पनि पर्ने भएकाले यसपटक रास्वपाले आफ्नो प्रभाव बढाउन सक्छ।
यो क्षेत्रमा चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गरूडा नगरपालिकाका वडा नम्बर २, ३, ४, ८ र ९ पर्छन् भने गढीमाई नगरपालिकाका १, २, ३, ४ र ५ वडा पर्छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा चन्द्रपुर नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो भने दोस्रोमा एमाले, तेस्रोमा माओवादी र चौथोमा एकीकृत समाजवादी थियो।
नगरपालिकाका १० मध्ये ५ वडामा कांग्रेस,३ वडामा माओवादी केन्द्र र एमाले दुइटा वडामा विजयी भएको थियो।
त्यस्तै वृन्दावन नगरपालिकाको प्रमुख र उप-प्रमुख दुवैमा एकीकृत समाजवादी विजयी भएको थियो भने दोस्रो कांग्रेस भएको थियो।
प्रमुखमा एमाले तेस्रो, माओवादी केन्द्र चौथो भएको थियो भने उप-प्रमुखमा माओवादी केन्द्र तेस्रो र एमाले चौथो भएको थियो। नगरपलिकाका ९ वडामध्ये ५ मा एकीकृत समाजवादी, दुइटा माओवादी केन्द्र र एउटा वडामा एमालेले जितेको थियो।
गढीमाई नगरपालिकाको वडा नम्बर १ मा एकीकृत समाजवादी, वडा २ मा कांग्रेस, वडा ३ मा जसपा नेपाल, वडा ४ मा कांग्रेस र ५ मा लोसपा विजयी भएका थिए।
गरूडा नगरपालिका वडा नम्बर २ मा जसपा नेपाल, ३ मा नेकपा माओवादी केन्द्र, ४ मा एकीकृत समाजवादी, ८ मा जसपा नेपाल र ९ मा नेपाली कांग्रेस विजयी भएका थिए।
२०७९ को प्रतिनिधिसभाको समानुपातिक मत र स्थानीय तहको मतलाई आधार मान्ने हो भने माओवादी केन्द्र र एकीकृत समाजवादीको एकताले नेकपाका उम्मेदवार रामकुमार भट्टराई पनि बलिया देखिन्छन्।
रौतहट पूर्वप्रधानमन्त्री तथा नेकपाका सह-संयोजक माधवकुमार नेपालको गृहजिल्ला पनि हो। उनी रौतहट-१ बाट उम्मेदवार बनेका छन्।




प्रतिक्रिया दिनुहोस्