काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल समेत मुछिएको पतञ्जलि भ्रष्टाचार प्रकरणमा बुधबार (माघ ७) विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान फाइल मगाउने आदेश दियो । भ्रष्टाचार मु्द्दामा सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले नेपाललगायत व्यक्तिहरूमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने गरी भएको निर्णयको फाइल झिकाउन आदेश दिएको हो ।
यसअघि पनि अदालतले सोही प्रकृतिको आदेश दिएको थियो । अख्तियारबाट फाइल आउन विलम्ब भएपछि विशेषले पुनः यस्तो आदेश दिएको हो । ‘‘यसअघि पनि आदेश भएको थियो । अख्तियारबाट फाइल आउन ढिलाइ भएपछि आज फेरि अर्को आदेश भयो,’’ विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले बाह्रखरीसँग भने, ‘‘आदेशलगत्तै आजै अख्तियारबाट फाइल आइपुगेको छ ।’’
रेग्मीका अनुसार, अख्तियारबाट पहिले मुद्दा नचल्ने गरी तामेलीमा राख्न भएको निर्णयको फाइल पेस भएपछि यही माघ १४ गतेका निम्ति अर्को सुनुवाइको पेसी समेत तय गरिएको छ ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेकपाका सहसंयोजक नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गएको जेठ २२ गते अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । नेपालसहितका प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको छ ।
नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जलिको जग्गा व्यक्तिलाई लाभ पुग्ने गरी हस्तान्तरण गराएको अख्तियारको जिकिर छ ।
०६६ साल फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गर्ने निर्णय गरिएको थियो । यसरी स्वीकृति दिने निर्णयबाट ३१४ रोपनी १५ आना दुई पैसा एक दाम जग्गा हिनामिना भएको अख्तियारको निष्कर्ष छ ।




प्रतिक्रिया दिनुहोस्