इलाम: युवादेखि वयस्कसम्म चुनावी मैदानमा,सुहाङ र भेषराजका लागि निर्वाचन अग्निपरीक्षा

Call24News

इलाम : फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताले इलाम जिल्लालाई देशकै राजनीतिको केन्द्रबिन्दुमा ल्याएको छ । पूर्वी पहाडको सुन्दर जिल्ला इलाममा नेताबीचको प्रतिस्पर्धा केवल चुनावी मात्र नभइ प्रतिष्ठा र विचारधाराको लडाइँ हुने संकेत गरेको छ । जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताका लागि पुगेका दलका नेता,कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति र गगनभेदी नाराबाजीले इलामको शान्त वातावरणलाई एकाएक चुनावी रन्कोमा परिणत गरिदिएको थियो।

क्षेत्र नम्बर १ : अनुभव र नवीन बौद्धिकताको द्वन्द्व

इलाम क्षेत्र नम्बर १ को चुनावी माहोल यसपटक निकै रोचक बनेको छ । यहाँ एकातिर स्थानीय तहमा लामो अनुभव संगालेका पुराना अनुहार छन् भने अर्कोतिर युवा र बौद्धिक नेतृत्वको नयाँ लहर देखिएको छ ।  क्षेत्र नम्बर १ को माहोललाई थप रोचक र चुनौतिपूर्ण बनाएका छन् नेपाली कांग्रेसका युवा नेता निष्कल राईले । कांग्रेसको तर्फबाट मनोनयन दर्ता गरेका निष्कल राई एक बौद्धिक,तार्किक र सुशासनका पक्षधर नेता मानिन्छन् । उनले केवल परम्परागत मतको भरमा मात्र नभइ नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने एजेन्डाहरू अगाडि सारेका छन् । सार्वजनिक बहसहरूमा उनको उपस्थितिले कांग्रेस समर्थकहरूमा मात्र नभई तटस्थ मतदाताहरूमा पनि कौतुहलता जगाएको छ । मनोनयन दर्ता पछि राईले भने, ‘संविधान संशोधनदेखि नागरिकको भावना अनुसारको काममा लाग्ने योजनामा छु ।‘

राईको उम्मेदवारी  निर्वाचन क्षेत्र न १ का अधिकांश कांग्रेसीजनले आफ्नै क्षेत्रको उम्मेदवारका माग गरिरहेको अवस्थामा उनीहरूको त्यो मागसहित युवा पुस्ताले भन्दै आएको युवा र सक्षम उम्मेदवारको चाहना समेत पूरा भएको सूर्योदयन नगरपालिका वाड न ११ का मतदाता दिननाथ दहालले बताए । 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रणबहादुर राई यस क्षेत्रका अर्का पात्र हुन् । सूर्योदय नगरपालिकाको दुई पटक मेयर भइसकेका राईले स्थानीय सरकार सञ्चालनको अनुभव र आफ्नो राष्ट्रिय, अन्तराष्ट्रिय सम्बन्धलाई उपयोग गरेर काम गर्ने योजनामा रहेको बताए । यसअघि तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए । नेपाली कांग्रेस र तत्कालीन नेकपा एससँगको गठबन्धकाबीच एमालेका बस्नेत विजयी भएका थिए । राई उनै खनालको विश्वास पात्र हुन् । 

यद्यपि नेकपा एमालेले काजीमान कागतेलाई मैदानमा उतारेको छ । कागते एमालेका पुराना र इमानदार नेताका रूपमा परिचित छन् । उनले यसअघि प्रदेश सभा सदस्यका रूपमा समेत काम गरिसकेका छन् । संगठन र वैचारिक स्पष्टताका आधारमा उनले आफ्नो बलियो उपस्थिति देखाउने प्रयास गरिरहेका छन् । उनले जनताको भावना अनुसार काम गर्ने योजना सहित चुनावी मैदानमा आएको बताए । 

क्षेत्र न १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी ज्वाला नेपाल,रास्वपाका विमल गदालसहित १३ जना चुनावी मैदानमा छन् । अनुभवको भण्डार र युवा जोसको यो त्रिकोणात्मक भिडन्तले क्षेत्र नम्बर १ को नतिजा कसको पक्षमा जान्छ भन्ने आकलन गर्न कठिन बनाएको छ ।

क्षेत्र नम्बर २: विरासतको रक्षा र नयाँ नेतृत्वको उदय

इलाम क्षेत्र नम्बर २ सधैं चर्चाको केन्द्रमा रहँदै आएको छ । पूर्वसभामुख स्वर्गीय सुवास चन्द्र नेम्वाङको विरासत जोडिएको यस क्षेत्रमा यसपटकको प्रतिस्पर्धा झनै कसिलो देखिएको छ । नेकपा एमालेले सुवास नेम्वाङका सुपुत्र सुहाङ नेम्वाङलाई पुनः चुनावी मैदानमा पठाएको छ ।

पेशाले अधिवक्ता रहेका सुहाङले २०८१ को उपनिर्वाचनमा विजयी भएर आफ्नो राजनीतिक क्षमताको परीक्षण गरिसकेका छन् । उनी आफ्ना पिताका अधुरा सपना पूरा गर्ने र युवाहरूको आवाजलाई संसदमा बुलन्द गर्ने मुख्य एजेन्डाका साथ मतदाताको दैलोमा पुगेका छन् ।

अर्कोतर्फ,नेपाली कांग्रेसले यसपटक आफ्नो रणनीति बदल्दै भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्यलाई कांग्रेसभित्रको ‘बौद्धिक र निष्ठावान’ नेताका रूपमा चिनिन्छ । भूगोल बुझेका नेताको रुपमा बुझिने आचार्य पनि अहिले चुनावी मैदानमा व्यस्त छन् । उनले पाएको टिकटले यो निर्वाचनलाई ‘युवा भर्सेस नयाँ नेतृत्व’ को रूपमा व्याख्या गरिएको छ । आचार्यले लामो समयदेखि संगठन सुदृढीकरणमा बिताएको समय र उनको स्वच्छ छविका कारण यसपटक कांग्रेसले एमालेको गढ भत्काउने दाउ हेरेको छ । क्षेत्र नम्बर २ मा जाति र पहिचानका मुद्दाहरूले पनि भित्री रूपमा प्रभाव पार्ने देखिन्छ,जसले गर्दा सुहाङ र भेषराज दुवैका लागि यो चुनाव अग्निपरीक्षा जस्तै बनेको छ ।

क्षेत्र न २ मा नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङ्ग,राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश कुमार दुलाल,रास्वपाका गोकुल बहादुर राईसहित १४ जना चुनावी मैदानमा छन् । 

विपद्को घाउ र स्थानीय एजेन्डाहरूको प्रभाव

यस निर्वाचनमा राजनीतिक विचारधाराभन्दा पनि स्थानीय समस्याहरूले बढी प्रभाव पार्ने देखिएको छ । सन् २०२५ को अक्टोबर (२०८२ असोज) मा आएको विनाशकारी बाढी र पहिरोले इलाममा अपूरणीय क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार सो विपद्मा परी ३९ जनाले ज्यान गुमाएका थिए भने १२ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । विशेष गरी सडक,पुल र खानेपानीका आयोजनाहरू ध्वस्त भएका छन् । मेची राजमार्गको राजदुवाली खण्डमा पटक–पटक जाने पहिरोले गर्दा यातायात अवरुद्ध हुने समस्याले इलामवासी आजित छन् ।

मतदाताहरूले यसपटक उम्मेदवारहरूसँग बाढीपछिको पुनर्निर्माण र भविष्यमा आउने यस्ता विपद्को दीर्घकालीन समाधानका बारेमा प्रश्न गरिरहेका छन् । त्यस्तै,इलामको मुख्य आर्थिक मेरुदण्डका रूपमा रहेको चिया क्षेत्रका समस्याहरू अर्को ठूलो चुनावी मुद्दा बनेको छ । चियाको उचित मूल्य नपाउनु,अन्तर्राष्ट्रिय बजारमा पहुँचको अभाव र रासायनिक मलको समयमा उपलब्धता नहुनुले किसानहरू मर्कामा छन् । कृषि र पर्यटनको विकासका लागि ठोस योजना ल्याउने उम्मेदवारलाई नै यसपटक मतदाताले प्राथमिकता दिने संकेत देखिएको छ । खानेपानीको संकट र शिक्षा क्षेत्रको सुधारका विषयहरूले पनि चुनावी बहसलाई तताएका छन् ।

इलामको निर्णायक मोड

इलाममा हुन लागेको यो निर्वाचन केवल एउटा सांसद छनोट गर्ने प्रक्रिया मात्र होइन,यो आगामी ५ वर्षका लागि जिल्लाको विकास र राजनीतिक संस्कार तय गर्ने अवसर पनि हो । एकातिर पुराना दलहरूको संगठनको शक्ति छ भने अर्कोतिर युवा उम्मेदवारहरूको जोस र नयाँ दृष्टिकोण छ । मतदाता सङ्ख्या र थपिएका मतदान केन्द्रहरूले निर्वाचनको व्यापकतालाई प्रस्ट पारेका छन् ।

आगामी चैत्र २१ गतेसम्म उम्मेदवारहरूले जनताका यी समस्या र एजेन्डाहरूलाई कसरी सम्बोधन गर्छन्,त्यसमै उनीहरूको जित–हारको फैसला निर्भर रहनेछ । विरासत, बौद्धिकता र स्थानीय आवश्यकताका बीचमा हुन लागेको यो महासंग्रामले इलामलाई राष्ट्रिय राजनीतिमा कुन उचाइमा पुर्‍याउँछ,त्यो भने हेर्न बाँकी नै छ ।

चुनावी तथ्याङ्क र प्रशासनिक तयारीको स्वरूप

आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता संख्या कायम भएको छ । निर्वाचनका लागि १ लाख १२ हजार १ सय ५८ महिला, १ लाख १९ हजार ६ सय ४८ पुरुष र अन्य ३ को मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ५० मतदानस्थल र २ सय ९० मतदान केन्द्र छन् । 

गत निर्वाचनमा भन्दा आउँदो निर्वाचनका लागि ५ मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार यसपटक सूर्योदय नगरपालिका–१२, करफोक मावि, इलाम नगरपालिका–८ को विद्या सिर्जनात्मक मावि, चुलाचुली २ को जनता मावि, देउमाईको डम्बरदेवी मावि र माइजोगमाई–५ को सिरिसे माविमा १–१ गरी ५ मतदान केन्द्र थप भएको छ । 

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार