काठमाडौं– देशको नै ध्यान तानेको झापा–५ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका रास्वपाका बरिष्ठ नेता बालेन शाहको सम्बोधन सुन्न स्थानीय आतुर रहेका छन्।
सर्वसाधारणको ब्यापक समर्थन र घुइँचोबीच मंगलबार झापा–५ मा मनोनयन दर्ता गर्ने क्रममा बालेन पुगेका थिए। उनको समर्थनमा हजारौंको उपस्थिति रहेको थियो।
‘राजनीतिमा यत्तिको क्रेज हुनुपर्छ, बालेनको जस्तो क्रेज होस् अनि निर्वाचनमा मतदान गर्न पनि मजा आउँछ’, दमकका सर्वसाधारण भन्छन्,‘हामी उहाँको सम्बोधन सुन्नका लागि आतुर रहेका छौं।’
झापा–५ मा ०६४ को संविधान सभाको निर्वाचनबाहेक ०४८ सालदेखि निरन्तर निर्वाचन जितेर ४ पटकसम्म प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालेनको प्रतिस्पर्धा हुनेछ।
‘झापामा ओलीकाविरुद्ध यति ठूलो जनसागरसहितको समर्थन अहिलेसम्म देखिएको थिएन’, एक जना ६७ बर्षिय ज्येष्ठ नागरिक भन्छन्,‘अब देश युवाको हातमा हुनुपर्छ। तर, उनको योजना के हो? झापावासीको मन कसरी पगाल्न सक्छन् त्योचाहिँ सुन्न र संवाद गर्न चहान्छौं।’
बालेनको उम्मेदवारी मनोनयनका क्रममा देखिएको जनसागरपछि एमालेले बलपूर्वक उपस्थिति गराएका कार्यकर्तासँग नोकझोंक पनि भएको थियो। सो क्रममा सुरक्षा निकायलाई सम्हाल्नका लागि केही कठिन भएको थियो।
‘निरन्तर एउटा अनुहारले जित्नुको पछाडिको कारण यहाँ गरिएका विकास पनि हुन्। तर, समग्र देशको विकासका निम्ति बालेन अहिले रुचाइएका उम्मेदवार हुन्’, सर्वसाधारण भन्छन्,‘उनका योजना के हुन् र कसरी निर्वाचन क्षेत्रका मतदातालाई खुशी बनाउन सक्लान्। संवाद नसुनी झापावासीको मत कसरी ल्याउन सक्लान् र?’
बालेनको क्रेज यसअघि मधेसमा गरिएको सम्बोधनका क्रममा ब्यापक थियो। उनले जनकपुरमा गरेको सम्बोधनको प्रभावका आधारमा पनि झापाबासीमा आशा पलाएको कतिपयको बुझाई छ।




प्रतिक्रिया दिनुहोस्