काँग्रेसले २०७४ पछि बैतडीमा प्रतिनिधि सभाका लागि भोट माग्दै, चतुर चन्दलाई टिकट

Call24News

धनगढीः नेपाली काँग्रेसले बैतडीमा जिल्ला सभापति चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। जिल्ला कार्यसमितिबाट सिफारिस भएका चन्दलाई गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिले टिकट दिएको हो।

काँग्रेसले बैतडीमा २०७४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ नरबहादुर चन्दलाई उम्मेदवार बनाएको थियो। २०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको काँग्रेसले आठ वर्षपछि चन्दलाई उम्मेदवार बनाएको हो।

बैतडीमा आठ वर्षपछि पार्टीले उम्मेदवार बनाएकोमा नेता तथा कार्यकर्ता खुसी भएका छन्। नेपाली काँग्रेस बैतडी- कैलाली सम्पर्क समिति अध्यक्ष प्रयागराज भट्टले आठ वर्षपछि रुख चिह्नमा मतदान गर्ने वातावरण बनेकोमा खुसी प्रकट गरे।

यस्तै, मेलौलीका शंकरदत्त भट्टले  फागुन २१ मा हुने निर्वाचनमा रुखमा मत हाल्न पाउने भएको भन्दै खुशी व्यक्त गरेका छन्, उनले आठ वर्षपछि मतपत्रमा रुख  चिह्न देख्न मिल्ने भन्दै दङ्ग परेका छन्। धनगढीमा चतुरबहादुर चन्दसँगै भेटिएका भट्टले बैतडीका काँग्रेस मतदाता गठबन्धन नभएको खुसी रहेको बताए।

धनगढीमा बैतडी- कैलाली सम्पर्क समितिले गरेको अन्तरक्रिया कार्यक्रममा भेटिएका दशरथ चन्द नगरपालिका वडा नम्बर-१ का  हरिदत्त भट्टले  बैतडीका मतदाताले यो पटक परिवर्तन चाहेको बताए।  उनले भने, ‘काँग्रेस, एमाले र माओवादीको भागबन्डाको राजनीतिबाट जनता दिक्क भएका छन्, अहिले काँग्रेसले एक्लै चुनाव लड्ने निर्णय गर्नु सुखद समाचार हो, चन्द नयाँ उम्मेदवार भएकाले जित्ने सम्भावना बढी छ।’

दोगडाकेदार-४ का ८० वर्षीय  भरतसिंह ठगुन्नाले बैतडी काँग्रेसको किल्ला रहेको स्मरण गर्दौ अब राजनीतिक दलहरूले  युवालाई अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘बैतडी काँग्रेसको किल्ला हो, गठबन्धनको राजनीतिले मतदाताले रुखमा भोट हाल्न पाएका थिएनन्। यो पटक सबै दल एक्लाएक्लै लड्ने भएका छन्, युवाहरूलाई राजनीतिमा अगाडि बढाउनुपर्छ भन्ने मेरो धारणा छ।’

बैतडीबाट काँग्रेसको टिकट पाएका चन्दले काँग्रेसले आफ्नै बलमा चुनाव लड्ने र जित्ने योजनाकासाथ अगाडि बढेको बताए। उनले पार्टीले यो पटक आफूलाई टिकट दिएको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध गर्दै चुनावमा जित हात पार्ने बताएका छन्। ‘काँग्रेसलाई रुपान्तरण गर्नु आवश्यक थियो, त्यो रुपान्तरण भएको छ। पार्टीले यो पटक मलाई टिकट दिएको छ, सबैलाई एकताबद्ध बनाएर नतिजा हाम्रो पक्षमा पार्छौँ,’ उनले भने, ‘जिल्लाको भूगोल ठूलो छ, विकास निर्माणको आवश्यकता पनि धेरै छ। आफूले सम्बोधन गर्न सक्ने कुराहरू समेटेर घोषणापत्र तयार गरी मतदातासँग मत माग्न जानेछौँ।’

प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा एमालेले दामोदर भण्डारीलाई टिकट दिएको छ भने राप्रपाबाट भुपेन्द्र चन्द उम्मेदवार बन्ने भएका छन्। यस्तै रास्वपाले भने हरिमोहन भण्डारीलाई टिकट दिएको छ भने नेकपाबाट परमानन्द भट्ट उम्मेदवार बन्ने भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार