बालेनले राजीनामा पठाएपछि उपमेयर सुनीता डंगोलले फोनमा गरेकी थिइन् ‘कन्फर्म’

Call24News

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए पनि राजीनामापत्र लिएर आफै महानगर गएका थिएनन्।

उनले आफ्नो सचिवालय सदस्य सुदीप ढकालका हातमा राजीनामापत्र पठाइदिएका थिए।

महानगर स्रोतका अनुसार उपमेयर सुनीता डंगोलले आइतबार दिउँसो बालेनको राजीनामा बुझ्न र आधिकारिक रूपमा विदाइ गर्न कार्यपालिका बैठक डाकेकी थिइन्।

बालेनले आफू विदाइ समारोहमा सहभागी हुने बताए पनि समय कन्फर्म गरेका थिएनन्। डंगोलले भने थोरै समयका लागि भए पनि महानगर कार्यालय आएर विदाइ समारोहमा उपस्थित हुन आग्रह गरेकी थिइन्। बालेनले आफू समय मिलाएर आउँछु भनेका थिए।

‘बालेनज्यूले समय मिलाएर आउँछु भनेकाले उपमेयर डंगोलले आइतबारका आफ्ना सबै कार्यक्रम स्थगित गर्नुभएको थियो। उहाँ दिनभरि नै महानगर कार्यालयमै बालेनलाई पर्खेर बस्नुभएको थियो,’ महानगर स्रोतले सेतोपाटीसँग भने।

यसबीच काठमाडौं महानगरका अन्य जनप्रतिनिधि पनि मेयर बालेनलाई औपचारिक विदाइ गर्न पर्खेर बसेका थिए।

तर बालेनले आफू उपस्थित नभई सचिवालय सदस्य सुदीप ढकाललाई राजीनामापत्र दिएर पठाएको स्रोतले बतायो।

त्यसपछि डंगोलले बालेनसँग मोबाइलमा कुराकानी गरिन् र थोरै समयका लागि भए पनि महानगरमा उपस्थित हुन आग्रह गरिन्।

‘बालेनज्यूले समय अभावका कारण महानगर आउन नसक्ने जबाफ दिनुभयो,’ महानगर स्रोतले भन्यो, ‘राजीनामा दिएपछि रास्वपा कार्यालय जाने र त्यहाँबाट साँझको फ्लाइटमा जनकपुर जाने कार्यक्रम रहेकाले आफू आउन असमर्थ रहेको उहाँले बताउनुभयो।’

त्यसपछि उपमेयर डंगोलले मोबाइलमै ‘यो राजीनामापत्र तपाईंले नै पठाउनुभएको हो नि’ भनेर कन्फर्म गरेकी थिइन्।

बालेनले आफूले नै राजीनामा पठाएको कन्फर्म गरेपछि डंगोलले प्रमुख प्रशासकीय अधिकृत लगायत महानगरका कानुन विज्ञहरूसँग सरसल्लाह गरिन्। मेयरको राजीनामा कसरी अघि बढाउने भनेर सल्लाह लिएपछि उनले उपमेयरका रूपमा बालेनको राजीनामा स्वीकृत गरेकी थिइन्।

सुनीताले राजीनामापत्रमा ‘काठमाडौं महानगरका प्रमुख बालेन शाहले आज मिति २०८२ माघ ४ गते पेस गर्नुभएको राजीनामा संविधानको धारा २१६ (८) (क) प्रयोजनका लागि रितपूर्वक दर्ता गरी अभिलेखबद्ध गर्नुहुन’ लेखेकी छन्।

बालेनले आफ्नो राजीनामाबारे शुक्रबार नै डंगोलसँग प्रत्यक्ष कुराकानी गरेको स्रोत बताउँछ।

स्रोतका अनुसार शुक्रबारको भेटमा बालेन र डंगोलबीच सौहार्द कुराकानी भएको थियो।

उनीहरूले पछिल्लो तीन वर्षमा मेयर र उपमेयरका रूपमा काठमाडौं महानगरमा गरेका कामको अनुभव आदानप्रदान गरेको स्रोतको भनाइ छ। आफ्नो काममा कहिल्यै बाधा-अवरोध नगरेको भन्दै बालेनले सुनीतालाई धन्यवाद दिएका थिए। सँगसँगै, सुनीताले पनि आफ्नो काममा बालेनका तर्फबाट कहिल्यै अड्चन नआएको र तीन वर्षको सहयात्रा एकदमै सुखद रहेको बताएकी थिइन्।

स्वतन्त्र उम्मेदवारी दिएर मेयर निर्वाचित बालेन र नेकपा एमालेबाट उपमेयर जितेकी सुनीताको तीन वर्षको सहयात्रामा एकअर्कालाई बाधा-अवरोध खडा गर्ने काम नभएको महानगरका अन्य जनप्रतिनिधिहरू पनि बताउँछन्। अन्य स्थानीय तहमा मेयर र उपमेयरबीच देखिने विवाद काठमाडौं महानगरमा विरलै देखिएको उनीहरूको भनाइ छ।

आइतबार बालेनको उपस्थितिबिनै बसेको कार्यपालिका बैठकले उनको नेतृत्वमा भएका सकारात्मक कामका लागि धन्यवाद प्रस्ताव पारित गरेको थियो।

आफ्नो सचिवालय सदस्यका हातमा राजीनामापत्र बुझाएपछि बालेन आइतबार दिउँसो चमतीस्थित रास्वपा पार्टी कार्यालय ‘घन्टीघर’ पुगेका थिए।

रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच घन्टीघर पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिए। उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू प्रांगणमै आएका थिए।

घन्टी बजाएर पार्टी प्रवेश गरेका बालेनले आफ्नो कार्यकक्षमा बसेर रास्वपाको पदभार ग्रहण गरे। त्यसलगत्तै उनी पार्टी कार्यालयबाट बाहिरिए।

पुस १३ गते रास्वपा सभापति लामिछानेसँग सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका बालेन १५ मिनेटभन्दा बढी कार्यालयमा बसेनन्। उनी आइतबारै साँझ जनकपुर गएका थिए।

जनकपुरमा सोमबार रास्वपाले कार्यक्रम गर्दैछ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन सहभागी हुँदै छन्।

बालेनको राजीनामापछि उपमेयर सुनीता डंगोल स्वत: काठमाडौं महानगरका कार्यवाहक मेयर भएकी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार