काठमाडौं । नेकपा एमालेले गोर्खा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उमेदवारमा यो पटक मिलन गुरुङ उर्फ चक्रे मिलनलाई अघि सारेको छ ।
शनिबार एमालेको सचिवालय बैठकले चक्रे मिलनलाई प्रतिनिधि सभा सांसदका लागि उमेदवार बनाउने निर्णय गरेको हो ।
अब गुरुङ सरकारले फागुन २१ का लागि तोकेको निर्वाचनका लागि माघ ६ गते गोर्खा पुगेर मनोनय दर्ता गराउनेछन् ।
उसो त गुरुङलाई एमालले यसअघि २०७९ को चुनावमै उमेदवार बनाउने तयारी गरेको थियो ।
तर, त्यो पटक उनी अन्तिम समयमा रोकिए । गोरखा एमालेकोे त्यो बेलाको बैठकले उनीसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम उमेदवारका लागि सिफारिस गरेको थियो ।
एमालेको केन्द्रले भने उनीहरु सबैको नाम हटाएर अब्दुस सलाम मियालाई उमेदवार बनायो ।
तर, मिया निर्वाचनमा पराजित भए । त्यो बेला गोर्खा–२ बाट तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भए । मिया तेस्रो बने । यो पटक भने गोर्खा एमालेको टिकट भने चक्रे मिलनले पाएका छन् ।
चक्रे मिलनको पृष्ठभूमि भने राजनीतिक कम गुण्डागर्दी बढी छ ।
उनी विभिन्न आपराधिक गतिविधिमा पक्राउ पर्दै छुट्दै आएका छन् । पछिल्लो पटकमात्रै उनी २०८२ साउनमा पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसरको टोलीले उनीसहित १९ जनालाई पक्राउ गरेको थियो ।
महाराजगञ्जको होटल साम्बालामा आफ्नै जन्मदिन मनाउने क्रममा राति अबेरसम्म होहल्ला गरेको आरोपमा उनी पक्राउ परेका थिए । चक्रे मिलनको गुण्डागर्दीको पृष्ठभूमि भने तीनदशक अघि देखिकै हो । प्रहरीको अभिलेखले चक्रे २०४६ सालमै पक्राउ परेको देखाएको छ ।
उनी पहिलोपटक ०४६ साउन ६ गते पक्राउ परेका थिए । यो क्रम हालसम्म जारी नै छ । दोस्रोपटक उनी २०४८ पुस १० गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा चलेको देखिन्छ । तेस्रोपटक उनी २०५२ जेठ १३ गते पक्राउ परेका थिए ।
त्यतिबेला भने उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । यसरी सार्वजनिक अपराधबाट अपराध कर्ममा फसेका चक्रे गुन्डागर्दी र हप्ता असुली धन्दामा सक्रिय रहेको प्रहरी दाबी छ । त्यसपछि चक्रे मिलन २०५५ वैशाख, २०६३ भदौ, २०६४ वैशाख, २०६५ माघ, २०६६ असार, २०६७ फागुन, २०७४ वैशाख र २०७४ भदौमा पक्राउ परेका थिए ।
ती अवधिमा प्रहरीले उनीविरुद्ध अभद्र व्यवहार, लागुऔषध र ज्यान मार्ने कसूरमा मुद्दा चलाएको देखिन्छ । गुण्डागर्दीकै पृष्ठभूमिबाट राजनीतिमा उदाएका चक्रे एक्ला व्यक्ति भने होइनन् ।
४७ वर्षीय चक्रे मिलनकै समकालीन राजीव गुरुङ उर्फ दीपक मनाङे यसअघि नै राजनीतिमा सक्रिय भइसकेका थिए । तर, हाल भने उनी जेल जीवन भोगिरहेका छन् ।
डिल्लीबजार कारागारमा रहेका गुरुङ चक्रे मिलन माथि खुकुरी प्रहार गरेका अभियोगमा दोषी ठहर भएपछि जेल पुगेका हुन् । चक्रे मिलन माथिकै आक्रमण दीपक मनाङेको राजनीतिक अवसान बनेको छ ।
मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभामा विजयी मनाङे प्रदेश सरकार जोगाउने र भत्काउने महत्वपूर्ण ‘फ्याक्टर’ नै थिए । उनीबेगर सत्ता असुरक्षित हुँदा महत्वपूर्ण मन्त्रालय र मन्त्री दिनुपर्ने बाध्यता थियो ।
तर, २०६१ साउनमा चक्रे मिलनमाथि मनाङे समूहले खुकुरी प्रहार गरे । त्यही घटनाबारे सर्वोच्चले २० वर्षपछि फैसला गर्दै मनाङेलाई दोषी ठहर गरेको थियो ।
सर्वोच्चको फैसला पछि उनको प्रदेश सभा सदस्यको पद मात्रै गुमेन जेल जानुपर्ने अवस्था आयो । कारागारका अनुसार दीपक अर्को महिना फागुनमा मात्रै जेल मुक्त हुनेछन् । तर, फौजदारी कसुरमा दोषी ठहर भएका उनी ६ वर्षसम्म राजनीतिक लाभ लिन पाउँने छैनन् ।
चक्रे मिलन भने गोर्खा–२ बाट चुनाव जिते संघीय संसद् पुग्नेछन् ।




प्रतिक्रिया दिनुहोस्