नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको उक्त रिटमाथि सुनुवाइका लागि सर्वोच्च प्रशासनले माघ ६ गतेको पेसी तोकेको छ। रिट दर्ता गर्ने क्रममा आजै पेसी तोक्न आग्रह गरिएको भए पनि नियमावलीका कारण सम्भव नभएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
निर्वाचन आयोगको निर्णय कार्यान्वयन भए नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र निर्वाचन प्रक्रियामा समेत सहभागी हुन नपाउने अवस्था आउन सक्ने दाबी गर्दै कार्यवाहक सभापति खड्कालगायत नेताहरूले तत्काल रिट दर्ता गरी आजै पेशी चढाउन माग गरेका थिए।
यसअघि शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको थियो।
उता, गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरिसकेका छन्, जसमा गगन थापा सभापतिमा निर्वाचित भएका छन्।




प्रतिक्रिया दिनुहोस्