देशभर बेरोजगारी समस्या चर्किंदै जाँदा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने म्यादी प्रहरीतर्फ युवायुवतीको आकर्षण बढ्दै गएको छ । छोटो समयमै काम गरेर निश्चित आम्दानी गर्न सकिने, साथै भविष्यमा रोजगारीका लागि अनुभव र प्रमाणपत्र उपयोगी हुने भन्दै म्यादी प्रहरी युवाहरूको रोजाइमा परेको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मधेश प्रदेशका आठै जिल्लाबाट कुल ५३ हजार ३ सय ३८ जनाले निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा आवेदन दिएका छन्, जुन मागभन्दा झण्डै ७० प्रतिशतले बढी हो । मधेश प्रदेशका आठवटै जिल्लाका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी)को ३१ हजार ४ सय ६६ जनाको मात्रै आवश्यकता रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार नेपाल प्रहरीतर्फ ४८ हजार २ सय ५० जना र सशस्त्र प्रहरीतर्फ ५ हजार ८८ जनाले आवेदन दिएका छन् । आवश्यक संख्याअनुसार नेपाल प्रहरीले २८ हजार २ सय ९५ जना र सशस्त्र प्रहरीले ३ हजार १ सय ७१ जना म्यादी प्रहरी भर्ना गर्ने जिम्मेवारी पाएका छन् ।
आवेदन दिनेहरूमध्ये पुरुषको संख्या अत्यधिक रहेको उनले बताए । प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार नेपाल प्रहरीतर्फ ४० हजार २७३ जना पुरुष र ७ हजार ९७७ जना महिलाले आवेदन दिएका छन् । पछिल्ला वर्षहरूमा महिलाको सहभागिता क्रमशः बढ्दै गए पनि अझै पुरुषको तुलनामा कम रहेको उनको भनाइ छ ।
निर्वाचन प्रहरीका लागि सबैभन्दा बढी आवेदन बारा जिल्लामा परेको छ । बारामा आवश्यकताभन्दा १०९.१५ प्रतिशत बढी आवेदन परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सो कार्यालयमा नेपाल प्रहरीतर्फ ६ हजार ७ सय ७३ जना र सशस्त्र प्रहरीतर्फ १ हजार ६ सय ६४ जना गरी कुल ८ हजार ४ सय ३७ जनाले आवेदन दिएका छन् ।
महोत्तरीमा ३ हजार ९१२ जनाको आवश्यकता रहेकोमा ५ हजार ३५९ जनाले आवेदन दिएका छन्, जुन आवश्यकताभन्दा ३६.९९ प्रतिशत बढी हो । अन्य जिल्लाको तुलनामा महोत्तरीमा प्रतिस्पर्धा केही कम देखिएको छ ।
त्यसैगरी, सप्तरीमा ४ हजार २ सय २२ जनाको आवश्यकतामा ७ हजार ५ सय १२ र धनुषामा ४ हजार ५ सय २७ जनाको आवश्यकतामा ७ हजार २ सय १५ जनाले आवेदन दिएका छन् । रौतहटमा ३ हजार ८ सय ५१ जनाको आवश्यकता रहेकोमा ६ हजार ७ सय ५३, सर्लाहीमा ४ हजार ३ सय ११ जनाको आवश्यकतामा ६ हजार ६ सय ६१ जना र पर्सामा २ हजार ८ सय ५२ जनाको आवश्यकता रहेकोमा ५ हजार ९ सय २० जनाले आवेदन दिएका छन् । यो आवश्यकताभन्दा १०७.५७ प्रतिशतले बढी हो ।
सिरहामा ३ हजार ७ सय ५७ जनाको आवश्यकतामा ५ हजार ४८१ जनाको आवेदन परेको छ । म्यादी प्रहरीमा आवेदन दिनेहरूमध्ये महोत्तरीको सोनमा गाउँपालिका–१ का पंकज साह पनि एक हुन् । उनी हाल बेरोजगार छन् । आवेदन दिनुको कारणबारे उनी भन्छन्, ‘काम छैन, बेरोजगार बसेको छु । वैदेशिक रोजगारीका लागि भिसा अप्लाई गरेको छु । तबसम्म खाली बस्नुभन्दा केही आम्दानी होस् भनेर म्यादी प्रहरीमा आवेदन दिएको हुँ ।’

उनका अनुसार म्यादी प्रहरीमा काम गरेको अनुभव र प्रमाणपत्रले वैदेशिक रोजगारीमा समेत फाइदा पुग्ने विश्वास युवाहरूमा छ । विशेष गरी खाडी मुलुकहरूमा सुरक्षा गार्डको जागिर पाउन म्यादी प्रहरीको अनुभव सहयोगी हुने चर्चा चलेपछि युवाहरू यसतर्फ थप आकर्षित भएका छन् ।
त्यस्तै, महिला युवतीहरू पनि घरमा बेरोजगार बस्नुभन्दा अल्पकालीन रोजगारीको अवसर उपयोग गर्ने उद्देश्यले म्यादी प्रहरीमा आवेदन दिन थालेका छन् । यसले म्यादी प्रहरीमा महिला सहभागिता क्रमशः बढ्दै गएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता गणेश बमका अनुसार म्यादी प्रहरीले सेवा अवधिभर विभिन्न सुविधा पाउँछन् । उनका अनुसार म्यादी प्रहरीले प्रहरी जवानले पाउने चार दिनबराबरको तलब, राशन भत्ता, खाजा भत्ता, पोशाक (ड्रेस) तथा यातायात खर्चसमेत प्राप्त गर्छन् ।
‘छोटो अवधिको सेवा भए पनि म्यादी प्रहरीलाई आधारभूत सुविधा सुनिश्चित गरिएको छ,’ प्रवक्ता बमले भने, ‘यसले बेरोजगार युवाहरूलाई अस्थायी रोजगारीसँगै केही आर्थिक राहत पनि प्रदान गर्छ ।’ बेरोजगारी, वैदेशिक रोजगारीको पर्खाइमा रहेका युवा तथा अल्पकालीन आम्दानीको खोजीमा रहेका व्यक्तिहरूको म्यादी प्रहरीतर्फ आकर्षण देखिएको प्रहरीहरूको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस्