धनगढी । कुनै बेला ‘सिस्टमका सिङ्घम’ भनेर चिनिएका प्रेमबहादुर आले मगर उर्फ प्रेम आले फेरि चुनाव लड्ने भएका छन् ।
डोटीबाट तीन तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि टिकट दिएको हो । नेकपाबाट टिकट पाएका आले अब कैलाली-५ बाट चुनाव लड्नेछन् ।
आले यसअघि दुईपटक मन्त्रीसमेत भइसकेका छन् । उनी २०७७ सालमा वन तथा वातावरण मन्त्री र २०७८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । फोनबाटै निर्देशन दिने, आयोजना स्थलमै पुगेर अनुगमन गर्ने र नतिजा खोजिहाल्ने शैलीकै कारण उनलाई धेरैले टाइगर भन्ने गर्थे ।
उनको काम गर्ने शैली कागजबाट भन्दा फोनबाट सुरु हुन्थ्यो । उनी फाइल पल्टाएर होइन, आँखा जुधाएर प्रश्न गर्थे ।
कर्मचारी होस् वा विभागीय प्रमुख, काम नगरेको देखियो भने उनले बन्द कोठाको शिष्टाचार भन्दा सार्वजनिक उत्तरदायित्वलाई माथि राखेर थर्काइहाल्थे । उनको यही स्वभावले कतिलाई असहज बनाएको थियो भने धेरैलाई पहिलोपटक माथिको दबाब कस्तो हुन्छ भन्ने अनुभूति गराएको थियो ।
मन्त्री पदमा रहुन्जेल आलेको मन्त्रालय अक्सर मैदानमै देखिन्थ्यो । विमानस्थल, राष्ट्यिर निकुञ्ज, होटल, आयोजना स्थल, जहाँ समस्या पर्थ्यो उनी त्यहीँ पुग्थे ।
आलेको यही शैलीले एकपटक सिस्टमलाई नमज्जासँग झस्काएको थियो । मन्त्री आएर हेर्छ भन्ने डर कर्मचारी र ठेकेदारमा पैदा भएको थियो । र आलेको त्यही स्वभावले धेरैले मन्त्री चाहिँ यत्तिको हुनुपर्छ भन्ने गरेका थिए ।
आलेको ‘सिङ्घम’ स्वभाव कतिलाई मन पर्यो, कतिलाई परेन । प्रेम आले आदर्श मन्त्री थिए कि थिएनन् ? त्यो बहस चलिरहन्छ । तर, एउटा कुरा उनको मन्त्रीकाल निदाएको थिएन ।
अहिले उनै आले फेरि कैलाली-५ बाट चुनाव लड्दैछन् ।




प्रतिक्रिया दिनुहोस्