धनगढी । २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काँग्रेस सभापति शेर बहादुर देउवासँग परायज भोगेको इन्जिनियर सागर ढकाल फेरि पनि डडेल्धुराबाटै चुनाव लड्ने तयारीमा छन् ।
अघिल्लो पटक स्वतन्त्र उम्मेदवार रहेका ढकाललाई यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ छ ।
त्यसैमाथि काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)ले नै ढकाल तयार भए डडेल्धुराबाट उनै प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने बाचा गरेपछि डडेल्धुराबाट उनी नै चुनाव लड्ने लगभग पक्का छ ।
ढकाल निकटका अनुसार पनि उनले फागुन २१ गते डडेल्धुराबाटै चुनाव लड्नेगरी तयारी र सक्रियता दुवै बढाएका छन् । २०७९ सालमा ढकालले देउवासँग १२ हजार ४ सय ९२ मतान्तरले हार व्यहोर्नुपरेको थियो ।
त्यसबेला देउवाले कुल २५ हजार ५ सय ३४ मत पाउँदा ढकालले सम्मानजनक १३ हजार ४२ मत पाएका थिए । तर, यसपाली परिस्थिति फरक छ ।
त्यसबेला एकढिक्का रहेको काँग्रेस अहिले दुई चिरामा विभाजित छ । एउटा देउवा समूह, अर्को गगन समूह । अझ विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि निर्वाचन आयोगले पनि गगन पक्षलाई नै काँग्रेसको आधिकारिकता दिएको छ । अर्थात, चुनाव चिन्ह रुख र चार तारे झण्डा गगन समूहकै भएको छ ।
यसरी हेर्दा देउवा अब नाम मात्रका काँग्रेस बनेका छन् । न उनीसँग चुनाव चिन्ह रुख छ, न त चार तारे झण्डा । तर अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा रहेको देउवा निकटका नेताहरुले बताएका छन् ।
पाँच पटक प्रधानमन्त्री बनेका देउवा फागुन २१ गते चुनाव लडे कुन पार्टीबाट लड्छन् ? यसको जवाफ सायद देउवासँग नै छैन ।
गगन पक्षसँग सहमति भएर देउवाको मुड फेरियो भने पनि गगन र विश्वप्रकाश शर्माले देउवालाई विश्राम गर्न नै सुझाउनेछन् । लड्नै परे देउवाले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने काँग्रेसकै नेताहरु बताउँछन् । तर स्वतन्त्र उम्मेदवारी दिएर लड्ने विषयमा देउवा कन्भिन्स्ड हुन सहज छैन । तर अरु विकल्प पनि उनीसँग छैन ।
त्यसो हुँदा अघिल्लो निर्वाचनमा स्वतन्त्र भएर लडेका सागर ढकाल डडेल्धुराबाट उठे उनीसँग यसपाली देउवा स्वतन्त्र लड्नेछन् । तर युवाको क्रेज बढेको र वृद्ध विश्राम गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला देउवालाई यसपाली चुनाव जित्न सहज भने हुने छैन । यद्यपि डडेल्धुराबाटै चुनाव लड्ने विषयमा ढकाल र देउवा दुवैले औपचारिक घोषणा गरेका छैनन् ।




प्रतिक्रिया दिनुहोस्