उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडि बढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।
शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, शुद्द र ऊर्जाशील भएर निस्केको बताए ।
उनले भने, ‘उज्यालो पार्टी गठन भएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासकासाथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नुपरेको थियो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नुपर्ने अवस्था आयो । त्यो अध्यारो सुरुङभित्र १२ दिनसम्म बस्दा हामीले धेरै ठूलो क्षति व्यहोर्न परेको थियो । आज त्यो हिलोबाट हामी सफा, शुद्ध र उर्जाशिल भएर निस्केका छौं ।’
त्यस्तै उनले आफूहरुलाई षड्यन्त्रपूर्वक ढंगले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गराइएको आरोप लगाए । २० देखि २५ लाख समानुपातिक मत आउने दाबी गर्दै उनले उम्मेदवारी दर्ता गर्न पाउने व्यवस्थाको लागि माग गरे ।
‘हामीलाई षड्यन्त्रपूर्वक ढंगले जुन हिसाबले हामीलाई भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेद्वारसम्म राख्न बन्चित गराइयो । त्यो हाम्रो गम्भीर आपत्तिको विषय छ । अहिले पनि हामी माग गर्छौं, उम्मेदवारी दर्ता गर्न दिनुपर्छ ।’
त्यस्तै अध्यक्ष घिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गरे । पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उनले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्