कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले एक साथ अघि बढाएका ३ काम

नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा अहिले एकसाथ तीनवटा काम भइरहेका छन्।

पहिलो, विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधि अनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरू भएको छ।

दोस्रो, विशेष महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्रमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ।

र तेस्रो, संस्थापन पक्षलाई विशेष महाधिवेशनको एजेन्डामा सहमतिमा ल्याउन छलफल पनि चलिरहेको छ।

सँगसँगै चलिरहेका यी तीन गतिविधिमध्ये पहिलो दुइटा गतिविधि महाधिवेशन स्थल भृकुटीमण्डपमा भइरहेका छन् भने वार्ताको प्रयास लाजिम्पाटस्थित संस्थापन पक्षका एक नेताको घरमा भइरहेको छ।

पहिलो काम

दोस्रो विशेष महाधिवेशनमा भइरहेको पहिलो काम निर्वाचनसँग सम्बन्धित छ।

सोमबारको बन्द सत्रले ध्वनि मतले पारित गरेको कार्य विधि अनुसार नयाँ केन्द्रीय समिति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ। एक सभापति, दुई उपसभापति र दुई महामन्त्री गरी साबिकको विधान अनुसारका सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू भएको हो।

सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू, पिछडिएका समुदाय गरी आठ जना रहन्छन्। त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिने छन्। पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबैमा निर्वाचित हुने विधानको व्यवस्था छ।

निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता फारम वितरण सुरू भएको छ।

कार्यतालिका अनुसार मंगलबार राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ। मनोनयन दर्ताका लागि २ देखि ३ बजेसम्मको समय दिइएको छ। साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ। यसअनुसार सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको छ भने केन्द्रीय सदस्य पदका लागि १० हजार रूपैयाँ शुल्क तोकिएको छ।

विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन्। चौधौं महाधिवेशनका प्रतिनिधिको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो। चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए। पार्टी छाड्ने र मृत्यु भएकाहरूको संख्या १ सय ५ छ। यद्यपि विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधि मात्र सहभागी छन्।

दोस्रो काम

निर्वाचन कार्यक्रम चलिरहेको भृकुटीमण्डपमै सोमबार सुरू बन्द सत्र पनि जारी छ।

नीति र नेतृत्व परिवर्तनका लागि पार्टीको संस्थापनविरूद्ध बहुसंख्यक प्रतिनिधिले आह्वान गरेको यो महाधिवेशनले पहिलो पटक बन्द सत्रमा हुने आन्तरिक छलफल समेत प्रत्यक्ष प्रसारण गरेर आम जनतालाई देखाउने चलन सुरू गरेको छ। कुनै पनि राजनीतिक पार्टीको बन्द सत्रका कार्यक्रम यसरी प्रत्यक्ष प्रसारण गरिएको यो पहिलो पटक हो।

सामान्यतया बन्द सत्र भनेकै पार्टीका प्रतिनिधिले प्रस्तावित प्रतिवेदनहरूमाथि गोप्य छलफल गर्ने र गोप्य रूपमा आ-आफ्नो निष्कर्ष सुनाउने मञ्च हो।

बन्द सत्र समापन भइसकेपछि त्यसले गरेका निर्णय सार्वजनिक गरिए पनि बन्द सत्रमा भइरहेका छलफल नै सार्वजनिक गर्ने चलन थिएन। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भने बन्द सत्रलाई नै खुला प्रसारण गरेर पारदर्शिता र खुलापनको नयाँ थालनी गरेको छ।

बन्द सत्रको पहिलो दिन सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आ-आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त प्रतिवेदनमाथि छलफल गर्न ९ वटा समिति बनाइएको थियो। ती समूहले बन्द सत्रको दोस्रो दिन आज मंगलबार आ-आफ्नो निष्कर्ष सुनाइरहेका छन्। हिजोको छलफल र अहिले विभिन्न समूहका संयोजकबाट निष्कर्ष सुनाउने प्रक्रिया पनि खुला गरिएको छ।

यस क्रममा प्रत्येक समूहले प्रतिवेदनमाथि आफ्नो टिप्पणी राख्दै सुझावसमेत दिइरहेका छन्। उनीहरूको टिप्पणी र सुझाव प्रत्यक्ष प्रसारणमा सुन्न र हेर्न सकिन्छ।

तेस्रो काम

महाधिवेशन स्थल भृकुटीमण्डपमा बन्द सत्र र निर्वाचन कार्यक्रम जारी रहँदा विशेष महाधिवेशन पक्षधरले आफ्ना चार जना नेतालाई संस्थापन पक्षसँग वार्तामा पनि लगाइरहेको छ।

लाजिम्पाटको एउटा घरमा संस्थापन र विशेष महाधिवेशन पक्षका नेताहरूबीच बिहानदेखि जारी वार्ताको पहिलो चरण सकिएको विशेष पक्षका एक नेताले जानकारी दिएका छन्। वार्तामा विशेष पक्षले आफ्ना अडानहरू राखेका थिए।

यो वार्ता सहमतिमा पुग्यो भने निर्वाचन प्रक्रिया स्थगित हुन सक्ने विशेष महाधिवेशन पक्षका एक नेताले बताए।

विशेष महाधिवेशन पक्षका तीन बटमलाइन छन् —

एक, सभापति शेरबहादुर देउवाले पार्टीको कार्यकारी भूमिका त्यागेर पूर्णबहादुर खड्कालाई जेठसम्म कार्यवाहक दिनुपर्नेछ।

दोस्रो, प्रतिनिधिसभाको उम्मेदवारी दर्तादेखि पार्टीका अन्य काममा सभापति देउवाको हस्ताक्षर चलाउन पाइने छैन र उनले आगामी चुनाव पनि नलड्ने घोषणा गर्नुपर्नेछ।

तेस्रो, विशेष महाधिवेशनलाई पार्टीले स्वीकार गर्दै त्यहाँबाट पारित दस्तावेज कार्या‍न्वयन गर्नुपर्नेछ।

विशेष महाधिवेशन पक्षका यी बटमलाइनमा संस्थापन पक्षले कुनै जबाफ दिएको छैन।

वार्तामा विशेष महाधिवेशन पक्षबाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।

देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार