सत्ताको ‘रसस्वादन’ ले तहसनहस नाउपा, रेशम चौधरी भन्छन्- जानेहरूलाई छेकबार छैन

थरूहट, थारूवान समुदायको पैरवी गर्दा गर्दै दलको छवि पाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अन्ततः संकटापन्न अवस्थामा पुगेको छ।

छोटो समयमै स्थानीय तहदेखि संघ सरकारको हिस्सा बनेको नाउपा अस्तित्व संकटबाट गुज्रिएको हो।

संविधानसभाले संविधान जारी गर्नुअघि २०७२ भदौ ७ गतेको टीकापुर ‘विद्रोह’ लाई राजनीतिक रङ दिँदै पार्टीको आकार दिएको नाउपा अहिले तितरवितर भएको छ। रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीको मूल हाँगो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। उनीसँग पार्टी स्थापना गर्दाताकका बहुसंख्यक केन्द्रीय सदस्य भए पनि निर्वाचित जनप्रतिनिधिहरूको ठूलो हिस्सा भने छैन।

थरूहट–थारूवान आन्दोलनका अगुवा रेशम चौधरीले २०७८ पुसमा डिल्लीबजार कारागारमा नाउपा गठन गरेका थिए।

२०७२ भदौ ७ को टीकापुर घटनामा डेढ वर्षे शिशुसहित ८ सुरक्षाकर्मी मारिएपछि उक्त घटनामा दोषी ठहर भएका चौधरी आजीवन कारावासको सजाय काटिरहेका थिए। टीकापुर आन्दोलन छिन्नभिन्न हुन नदिन नै चौधरीले जेल सजाय काटिरहेकै बखत पत्नी रञ्जिता चौधरीलाई अध्यक्ष राखेर ‘ढकिया’ चुनाव चिह्नको नाउपा गठन गरेका थिए। र, लगत्तैको निर्वाचनमा भाग लिएका थिए।

पार्टी गठनको वर्ष दिन नबित्दै नाउपाले थारू समुदायको उल्लेखनीय मत पायो।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी गाउँपालिकासहित कैलालीमा मात्र प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहित १०० भन्दा बढी जनप्रतिनिधि जितेको थियो।

२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि नाउपाकै निम्ति फलिफाप भयो। त्यस निर्वाचनमा प्रतिनिधिसभातर्फ कैलाली–१ बाट अध्यक्ष रञ्जिता श्रेष्ठ, कैलाली–२ बाट अरूणकुमार चौधरी, कैलाली–३ बाट गंगाराम चौधरी निर्वाचित भएका थिए।

उक्त निर्वाचनमा फौजदारी कसुर प्रमाणित भई सजाय व्यहोरिरहेका रेशम चौधरीले पनि उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारी खारेज गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका उनका पिता लालवीर चौधरीलाई नाउपाले समर्थन गरेको थियो। उनले बर्दिया–२ बाट चुनाव जिते। पछि नाउपा प्रवेश गरे।

प्रदेशतर्फ पनि नाउपा सुदूरपश्चिमको कैलाली छिचोलेर लुम्बिनी र मधेस प्रदेशसम्मै विस्तारित भयो।

प्रतिनिधिसभाको समानुपातिकतर्फ तीन लाख मत नकटाएकाले राष्ट्रिय पार्टीको मान्यता नपाए पनि नाउपाले प्रतिनिधिसभामा २ लाख ७१ हजार ७२२ मत ल्याएको थियो।

प्रदेशसभातर्फ कोशीमा १२ हजार १५५, मधेसमा ४९ हजार ७०५, बागमतीमा ३ हजार ५९२, गण्डकीमा २ हजार ३५८, लुम्बिनीमा १ लाख २५ हजार ५२१, कर्णालीमा ३८६, सुदूरपश्चिममा ९८ हजार ५५९ गरी कुल २९२ हजार २७६ मत प्राप्त गरेको थियो। सुदूरपश्चिममा ७, लुम्बिनीमा २ र मधेस प्रदेशमा १ सांसदको प्रतिनिधित्व छ।

नाउपाले थारू बहुल क्षेत्रबाट उल्लेख्य मत प्राप्त गरेको थियो। २०७८ को जनगणना अनुसार थारूको जनासांख्यिक हिस्सा १८ लाख ७ हजार १२४ अर्थात् ६.२ प्रतिशत छ।

यसरी स्थापनाको छोटो समयमै पार्टीले आर्जन गरेको समुदायको विश्वास नाउपाको मूल पुँजी थियो।

तर अहिले यो पार्टी चार टुक्रामा विभक्त भएको छ। तीन जना निवर्तमान संघीय सांसद लिएर संरक्षक रेशम चौधरीले जेनजी उमेर समूहको नेतृत्व रहने गरी कवीर सोपलाई अध्यक्ष बनाउँदै नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता गरेका छन्।

सुदूरपश्चिम, कैलाली १ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद कैलाश चौधरी र बर्दिया २ (२) बाट निर्वाचित धर्मबहादुर चौधरीसहित पार्टीका केही प्रभावशाली नेता कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा खुलेका छन्।

पार्टीका संस्थापक नेता (पछि उपाध्यक्षसमेत बनाइएका) दामोदर पण्डित, कोमल ज्ञवाली, भक्तबहादुर चलाउने सहितका नेता राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। यसरी रास्वपा प्रवेश गर्नेमा टीकापुर आन्दोलनका अगुवा लक्ष्मण थारू, सुरेन्द्र चौधरी लगायत पनि गाँसिएका छन्।

नाउपाको अस्तित्व संकटापन्न अवस्थामा पुग्दा पार्टीका संस्थापक नेता मात्र विभाजित देखिएका छैनन्; थरूहट, थारूवान आन्दोलनका अगुवासमेत छिन्नभिन्न भएका छन्। आन्दोलनका अगुरू थारू र सुरेन्द्र चौधरी नाउपा गठनताक नै लाखापाखा लागिसकेका थिए। रेशम चौधरी र उनीहरूबीच सुरूदेखि नै विमति रहेको थियो।

थारू समुदायका मुद्दालाई सदन हुँदै सत्तामार्फत् सम्बोधन गर्ने निकायसम्म पुर्‍याए पनि नाउपाका अगुवा सत्ताको वरिपरि मात्रै घुमे। सुदूरपश्चिम प्रदेशसभामा निर्णायक शक्ति भए पनि त्यो पुँजीलाई आन्दोलनको हितमा प्रयोग गर्न सकेनन्। समुदायको मुद्दामा आफूलाई उभ्याइरहन सकेनन्। उनीहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई सत्ताको नेतृत्व दिन सहायक बनिरहे।

परिणामतः पार्टीभित्र असन्तुष्टि र अन्तरविरोध चुलियो। दलको नेता बदल्ने, एकले अर्कालाई निषेध गर्ने र कारबाही गर्नेसम्मका शृंखला नै चले। पार्टीको अन्तरविरोधकै कारण नाउपाले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी आएको अवसरसमेत गुमाएको थियो।

गम्भीर प्रकृतिको फौजदारी कसुर प्रमाण भई अन्तिम अदालतबाट पनि टुंगो लागेकाले राजनीतिक दलसम्बन्धी कानुन अनुसार रेशम चौधरी पार्टी अध्यक्ष बन्न पाउँदैनन्। तर नाउपाका सूत्रधार उनै थिए। आफैले अगुवाइ गरेको आन्दोलनको बलमा गठन भएको पार्टीलाई रेशमले आफ्नो इच्छाअनुरूप चलाउन खोज्नु नाउपा विग्रहको कारक बन्यो।

उनले यसबीच पार्टीको नेतृत्वमा आउन विभिन्न प्रयास गरे। २०८० पुस अन्तिममा पहिलो महाधिवेशन गर्दै आफैलाई अध्यक्ष निर्वाचित गरे। तर निर्वाचन आयोगले कानुनको त्यही दफा देखाउँदै वैधता दिन रोक्यो। रेशम चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई आयोगले अद्यावधिक गरिदिएन। नाउपा पुरानै तदर्थ कमिटीमा फर्कन बाध्य भयो।

त्यसपछि पनि सत्ता र शक्तिमा आउने रेशमको प्रयास निरन्तर नै रह्यो।

उनले २०८२ कै मध्य साउनमा राष्ट्रिय भेला गर्दै पत्नी रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही मात्र गरेनन्, पिता लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरे। लालवीर पार्टीका संस्थापक सदस्य थिएनन्। उक्त भेला प्रतिनिधिसभाका प्रमुख सचेतक गंगाराम चौधरीले बोलाएका थिए। पार्टी विधानमा केन्द्रीय समितिको बैठक बोलाउने अधिकार चौधरीलाई थिएन।

यी दुवै कारण देखाएर निर्वाचन आयोगले लालवीर नेतृत्वको नाउपा पनि अद्यावधिक गर्न मानेन। रञ्जितालाई नै मान्यता दियो।

तैपनि पार्टीलाई आफूअनुकूल चलाउने रेशमको तृष्णा दूर भएन। उनले नयाँ पार्टी गठन गरेर त्यसको अभ्यास गर्न थाले।

प्राविधिक रूपमा नाउपा अध्यक्ष भए पनि रञ्जिताको मुद्दासँग निकटता छैन। पार्टीको मूल स्रोतसँग पनि उनको सामीप्य रहने भएन। भदौ २३ र २४ गतेको जेनजी विद्रोह र त्यसले प्रतिनिधिसभा भंग गरेपछि सांसदका रूपमा रञ्जिताले गर्न सक्ने शक्ति अभ्यास पनि समाप्त भयो।

त्यसपछि पार्टीको बहुसंख्यक केन्द्रीय सदस्य बोकेर उनले नेकपामा पार्टी मिसाइन्। नाउपाको मूल धार त्यहीँ लगेर बिसाइन्।

रेशम–रञ्जिताको वैध–अवैध सत्ता–शक्ति अभ्यासले मात्र नाउपा धराशायी र क्षीण बनेको होइन। यो भ्रष्टाचारमा पनि चुर्लुम्म डुब्यो।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ नै भ्रष्टाचारमा मुछिइन्। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लेनदेख गरेको आरोप उनीमाथि लागेको छ। छानबिन पनि भइरहेको छ। मुद्दा किनारा लागिसकेको छैन।

प्रदेशका मन्त्रीहरू पनि त्यसै गरी भ्रष्टाचारमा मुछिए। सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका बेला घुस लेनदेनमा मुछिएपछि तत्कालीन मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका थिए। उनीपछि मन्त्री बनेका रामेश्वर चौधरी पनि भ्रष्टाचार काण्डकै कारण बर्खासीमा परे।

पद गुमाए पनि उनीहरूमाथिको अनुसन्धान, छानबिन टुंगिएको छैन। सम्बन्धित निकायले यसमा अध्ययन गरिरहेका छन्।

पत्नी पार्टी अध्यक्ष हुँदाहुँदै शक्तिको अभ्यास गर्न खोज्ने रेशमको आकांक्षा, पत्नीसँगको राजनीतिक, विचारधारात्मक बेमेल, सांसदहरूलाई पदीय आचरणमा बाँध्न नसक्दा थरूहट आन्दोलनको ‘उपलब्धि’ गुम्ने संघारमा मात्र छैन, रेशम चौधरी एक्लो बनेका छन्। थरूहट मुद्दा पनि छिरलिन पुगेको छ। त्यसलाई एकत्रित गर्दै आन्दोलनको स्वरूप दिन रेशमलाई हम्मे परिरहेको छ।

यसबीच रेशमले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछाने लगायतसँग संवाद गरे। तत्काल यी कुनै पार्टीलाई गन्तव्य बनाउन नसक्ने अवस्थामा पुगेका रेशम चौबाटोमा उभिएका बटुवा सरह भएका छन्, गन्तव्य थाहा भए पनि बाटोको भेउ पाइसकेका छैनन्।

सामुदायिक समाजवादमा पुग्ने दीर्घबाटो र थारू समुदायको हित गर्ने तत्कालीन लक्ष्य बोकेर हिँडेका रेशम बिलखबन्दमा परेको देखेपछि सेतोपाटीले उनीसँग जिज्ञासा राखेको थियो।

उनले सेतोपाटीसँगको कुराकानीमा ठूला दलको उपयोगवादी मनोदशाको चंगुलमा फसेको स्वीकारे।

‘हामी सबै, प्रायः नेपालीहरू नै एक किसिमले स्वार्थी भइसकेछौं। पहिचानको मुद्दा लिएर हामीले संघर्ष गरेकै हौं। संघर्ष गर्दा त्यसबेला सरकारमा रहेका कांग्रेस-एमालेहरूले जुन रवैया देखाए, देशलाई उनीहरूले पेवा, बपौती ठाने। जोसँग रिस उठ्यो त्यसलाई जेलमा हाल्दिने, जससँग इर्ष्या भयो, फसाइदिने, त्यसविरूद्ध हामीले संघर्ष गर्‍यौं,’ उनले टीकापुर घटना सम्झिँदै भने।

त्यही संघर्ष स्वरूप पार्टी खोलेको र ठूला दलकै दाउपेचका कारण पार्टी छिन्नभिन्न भएको चौधरीले बताए। त्यसलाई पार्टीका साथीहरूले बुझ्न नसकेको गुनासो पनि गरे।

‘जेलबाट पार्टी जन्माइसकेपछि स्वार्थ लोलुपतामा आफ्नाहरू पनि मुछिए। पार्टीको कार्यदिशा, रणनीति के हो भन्नेतर्फ कोही कसैले ध्यान केन्द्रित गरेनन्,’ उनले भने।

पार्टी गठन भएपछि विभिन्न पार्टीबाट ‘स्वार्थी’हरू आएर भरिएको र तिनले पार्टी रित्तो बनाएर फर्कन्छन् भनेर आफूले भेउ पाउन नसकेको उनले स्वीकार गरे।

‘हामीले पनि बुझेनौं, विभिन्न दलहरूबाट केही क्षणिक पदलाभका निम्ति आएजस्तो गरे पनि अन्ततः उनीहरूले उपयोग गर्ने छन्। त्यस कारण पार्टीमा न नीति रह्यो, न विधि रह्यो, न पद्धति नै स्थापित गर्न सकियो। विधि, पद्धति, नीति स्थापित गरौं भन्दा विद्रोह हुने अवस्थामा पुग्यो। न कसैले पार्टीप्रति आसक्ति देखायो, न कसैले लेबी तिर्‍यो, न पार्टीको प्रशिक्षणलाई सहयोग गर्‍यो। सबैले आ-आफ्नो कमाउने एउटा भाँडो मात्र बनाए,’ उनले क्रमशः आफ्ना असन्तुष्टि बताए।

हिजो पनि एक्लै संघर्ष गरेकाले अहिले पछि गाँसिएकाहरू तितरबितर भए भनेर एक्लो अनुभूति गर्नुपर्ने अवस्था नरहेको उनले बताए।

मुद्दा बोकेर हिँडेको मान्छे कहिल्यै एक्लो नहुने र समुदायले हमेसा नेता मान्ने जिकिर पनि उनले गरे।

‘सिंगो समुदायले हाम्रो नेता यो मात्र रहेछ भनेको अवस्था छ। गाउँ–बस्तीमा मत बढेर गएको छ,’ उनले भने, ‘मैले समुदायको मुद्दा उठाएको हुँ। यो मुद्दाबाट सबै भाग्लान् तर मलाई पन्छिने, यो कित्ताबाट भाग्ने, उम्किने या कुनै बहाना बनाएर किनारा लाग्ने छुट छैन। म लडिरहन्छु।’

कुनै अध्यायको पूर्णविराम लागे पनि कलम र मसी जीवित रहँदा इतिहासको रचयिताले अर्को अध्याय कोर्न सक्ने सम्भावना रहने भन्दै आफू कहिल्यै निराश नहुने उनले धारणा राखे।

‘बाँचुञ्जेल संघर्ष गर्ने हो, लडाइँ लड्ने हो। यो मैदानबाट म भाग्दिनँ। युद्ध जित्नु, हार्नु ठूलो कुरा होइन। युद्धमा कलाकौशल देखाउनेहरूले हारेको इतिहास कहीँ पनि छैन। कर्णले महाभारतको युद्धमा मृत्युवरण गरे। तर कर्णजस्तो सुरवीर कोही थिएनन् भनेर आजको इतिहासले प्रमाणित गरेको छ,’ रेशम चौधरीले भने, ‘यो राष्ट्रको आफ्नै इतिहास छ। कुरूक्षेत्रमा अभिमन्युहरू मर्न सक्छन तर चक्रव्युहमा पारेर मारिएका हुन् भनेर आज इतिहासले भन्छ।’

पार्टीका साथीहरूलाई विश्वास गरेर पदमा पुर्‍याउँदा धोका भएको उनको बुझाइ छ। लुम्बिनी प्रदेश सरकारमा रहेका साथीहरूले २७ अर्बको बजेट बनाउँदा थारू समुदायले केही नपाएकाले अब यसको समीक्षा गरेर आन्दोलन विस्तृत बनाउने उनले बताए।

‘हाम्रा साथीहरूलाई हामीले मन्त्री बनायौं। उनीहरूले २७ अर्बको बजेट बनाए। कस्तो प्रकारको बजेट बनाउनुपर्छ भनेर पार्टीलाई एक पटक पनि सोधेनन्। हाम्रो त भौगोलिक, सांस्कृतिक पहिचान सहितको संघीयता र समुदायमा आधारित समाजवाद स्थापना गर्ने लक्ष्य थियो,’ उनले दुःखमनाउ गरे, ‘साथीहरू त्यतापट्टि लाग्नु भएन। उही कांग्रेस–एमालेको जस्तो कमिसनमै लाग्नुभयो। कमिसनमा व्यस्त हुनुभयो। हिजो लुकीलुकी हिँड्ने साथीहरूको हैसियत आज करोडौंमा छ। बाटाघाटा, गल्लीगल्लीमा घरघडेरी जोडिएको छ। नांगो नाच नाचिएको छ। हामीलाई भन्नु केही छैन। कमाउन त सबैले कमाउँछन्। तर सिंगो समुदायको मुद्दा बिर्सिएर, सिंगो समुदायलाई रूवाएर कमाएको सम्पत्ति भनेको क्षणभरका लागि हुन्छ। म मेरो स्वाभिमान बेच्न नपाऊँ, मलाई यसैमा गर्व छ।’

संरक्षक चौधरीले आफूले नाउपाको अध्यक्षका रूपमा पत्नीलाई नभई महिलालाई अघि सारेको बताए। र, त्यसमा आफूलाई कुनै हिच्किचाहट, ग्लानी नरहेको बताए।

‘विगतमा उनलाई पार्टीको अध्यक्ष बनाउनु मेरो भुल थियो या मेरो महानता? त्यो इतिहासले पुष्टि गर्ला। त्यो मेरो महानतालाई कसैले कमजोरी ठानेर त्यो अवस्थामा एकछिन गिज्याँउछ भने ठूलो कुरा होइन,’ उनले भने।

आफूले रञ्जितालाई सबै प्रकारको राजनीतिक छुट दिएको उनले बताए। र, आफूलाई त्यसमा कत्ति पनि हिचकिचाहट नभएको उनको भनाइ छ।

‘मैले जुन नीति, विधि, पद्धति स्थापित गर्न खोजेको छु, त्यो पार्टीमा भएन। त्यस कारण अबको पार्टीमा हामीले त्यसलाई स्थापित गरेर लानुपर्छ भनेर म अलग भएँ। ठिकै छ, उहाँहरू अहिले अर्को पार्टीमा जानुभयो। उहाँहरूलाई राजनीतिक जीवनको शुभकामना छ। मेरो कहीँ, कतै छेकबार छैन,’ उनले अन्तिममा भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार