आईसीसी महिला टी–२० विश्वकप क्वालिफायरअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटेलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । अमरावती बुटिक होटेलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले घोषणाको जानकारी गराए ।
घोषणाअनुसार प्रतियोगिताभर सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो घोषणा गरेको श्रेष्ठले बताए । उनले महिला क्रिकेटको विकास र खेलाडीहरूको मेहनत तथा प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदान आवश्यक रहेको बताए ।
उनले महिला खेलाडीहरूले अन्तर्राष्ट्रियस्तरमा देशको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास बढाउने र अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । “महिला क्रिकेट आज विश्वस्तरमा तीव्र रूपमा अगाडि बढिरहेको छ । यस्तो अवस्थामा हामीले हाम्रा खेलाडीहरूलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो,” श्रेष्ठले बताए ।
आईसीसी महिला टी–२० विश्वकप क्वालिफायर माघ ४ देखि १८ गतेसम्म हुनेछ ।




प्रतिक्रिया दिनुहोस्