News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक रहेको जनाएको छ।
- महामन्त्री गगनकुमार थापाले जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक भएको बताए।
- कांग्रेसले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका लागि बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेको छ।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक रहेको जनाएको छ ।
जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न र संस्थागत गर्न त्यस्तो समझदारी आवश्यक रहेको कांग्रेसको भनाइ छ ।
दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा साझा राष्ट्रिय समझदारी निर्माण आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘जेनजी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रुप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सुशासन लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य–मान्यताविपरीत नगई रुपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ ।’
कांग्रेसले बहुपक्षीय संवादका लागि आह्वान गरेको छ । ‘नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गर्दछ । त्यसलाई परिणाममुखी बनाउन नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ,’ थापाले भनेका छन् ।
उनले प्रतिवेदनमा जेनजी विद्रोहको भूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको उल्लेख गरेका छन् । ‘भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितताको त्यो आवाज तथा अभियान आम नागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृष्टिकोण छ,’ प्रतिवेदनमा उल्लेख छ ।




प्रतिक्रिया दिनुहोस्