भदौ आन्दोलन अगाडि उप-निर्वाचनमा होमिने तयारीमा रहेका ओमप्रकाश अर्याल बदलिएको माहौलसँगै सुशीला कार्कीको विश्वास पात्र बन्दै जेनजीको बलमा बनेको सरकारको गृहमन्त्री बने। गृहमन्त्री बनेको केही समयसम्म उनी आन्दोलनकारीझैँ सुनिएका थिए। तर बिस्तारै उनी बदलिँदै गए।
कुनै समय एमालेको विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी गृहमन्त्री भएपछि सिधै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टक्कर लिन थाले। जेनजी आन्दोलनको बेलामा प्रधानमन्त्री रहेका ओली अनि तत्कालीन गृहमन्त्री रमेश लेखक दुबैलाई तत्काल पक्राउ गर्ने पक्षमा उभिएपछि ओली र अर्यालबीच केही समय घोचपेच समेत सुरु भयो।
निर्वाचनको म्यान्डेट पाएको सरकारको गृहमन्त्री शान्ती सुरक्षा बहालीतिर भन्दा राजनीतिक दलका नेताहरूलाई घोचपेच गरेर माहोल बिगार्नतिर लागेको भन्दै आलोचना बढेपछि उनी संयमित हुन थाले। सार्वजनिक कार्यक्रमहरूमा बोल्ने शैली बदले।
यहीबिचमा एकाएक जेनजी आन्दोलनमा पानी बाँड्न गएर सेनाको बलमा अगुवा भएर निस्किएका सुधन गुरुङसँग उनको विवाद सुरु भयो। सुधनले सामाजिक सञ्जालबाट अर्यालले जेनजी आन्दोलनलाई धोका दिएको भन्दै राजीनामा माग्न थाले। अहिले पनि सुधन अर्यालप्रति रिसाएकै छन्।
हालै एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा अर्याल कानुनी सल्लाह दिने भन्दै जेनजी समूहसँग नजिक भएर मन्त्री भएको तर पछि धोका दिएको आरोप लगाए। धरानका मेयर हर्क साम्पाङलाई गृहमन्त्री बनाउने तयारी गर्दा उनै अर्यालले धोका दिएर आफू मन्त्री भएको आरोपसम्म लगाए।
अर्याल फागुन २१ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा देखिएका थिए। बालेन शाह समूह निकट मानिने उनी त्यतैबाट राजनीतिमा सक्रिय हुने तयारीकैक्रममा बालेन समूह नै राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भएपछि अब उनी चुनावी सरकारमा बसेर कुनै दलसँग ढल्किने छुट समेत नभएको बताउन थालेका छन्।
दलीय रूपमा सक्रिय रहेका कुलमान घिसिङ यही दबाबका कारण राजीनामा दिन बाध्य भए। आफ्नो संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गराएर संगठन निर्माणमा सक्रिय भए पनि उनी सरकारमै रहिरहे। बाहिर आफू स्वतन्त्र भएको दाबी गरे पनि रास्वपाको उपसभापति हुनेगरि सहमति गरेपछि भने चुनावी सरकारमा दलीय प्रभाव सुरु भएको भन्दै आलोचना बढ्यो। उनले कुनै दलको सदस्य छैन भनेपछि ढाँटेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि राजीनामा दिए।
वर्तमान सरकारमा रहेका दुई मन्त्री जगदीश खरेल मन्त्री बन्नु अगाडिसम्म नेपाली कांग्रेसको क्रियशिल सदस्य थिए। रास्वपा, बालेन र कुलमान मिलेपछि उनी रास्वपातिर ढल्किए। सामाजिक सञ्जालमा लेख्न थाले। भाडाका आन्दोलनकारीको रूपमा परिचित बब्लु गुप्ता बालेन र कुलमानको समर्थनमा खेलकुद मन्त्री भए पनि उनले पनि दलीय मोह छाड्न सकेनन्।
कुलमान निकट उनी जब कुलमान र रास्वपाबीच एकता भयो त्यो कार्यक्रममै देखिए। निर्वाचनको माहोल बन्दै गएको बेलामा सरकारमा रहेका मन्त्रीहरू कुनै दल निकट देखिँदा सरकारको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले दलीय रूपमा सक्रिय भएका मन्त्रीहरूलाई राजीनामा दिन भनिन्। कुलमानले राजीनामा दिए पनि खरेल र गुप्ताले राजीनामा दिएका छैनन्।
जगदीशले दलीय आबद्धताबारे दोहोरो कुरा गर्दै “आफू अहिले कुनै दलमा संलग्न नरहेको भन्दै चुनावमा उम्मेदवार बन्ने या नबन्ने केही निर्णय नगरेको, दलमा लाग्ने वा नलाग्ने केही निर्णय नगरेको” भनेर दबाब छेक्ने प्रयास गरे। बब्लु यो प्रकरणमा मौन छन्। अमेरिकाको एक कार्यक्रममा जान भ्रमण स्वीकृत भएकाले त्यता सहभागी भएर फर्किएपछि राजीनामा दिने तयारीमा रहेका भनिएका उनी त्यही भ्रमणले अहिले विवादमा छन्।
यही बिचमा उनी राष्ट्रिय खेलकुद परिषद्मा सदस्य नियुक्त गर्दा आर्थिक चलखेल गरेको र सदस्य सचिव नियुक्तिका लागि सहयोगी मार्फत पाँच करोडसम्म माग गरेको अर्को विवादमा तानिएका छन्। तर उनले राजीनामाबारे केही बोलेका छैनन्। बब्लु बालेन र कुलमान दुवै निकट भए पनि उनी बढी कुलमानको निकट रहेको उनीबारे जानकार बताउँछन्। कुलमान नेपाल विद्युत् प्राधिकरणको प्रमुख रहेदेखि नै उनी उनको पक्षमा केटाहरू भेला पारेर प्रदर्शनमा सहभागी थिए। उनी चोलेन्द्र शमशेर राणाको पक्षमा समेत विरोधमा उत्रिएका विवादित पृष्ठभूमिका हुन्।
दलीय मोह देखाएका तीनमध्ये एक मन्त्रीले राजीनामा दिए पनि दुई जान अझै बहाना बनाएर सरकारमै बसिरहेको बेलामा उनै गृहमन्त्री अर्यालले शुक्रवार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा वर्तमान सरकारमा मन्त्री रहेकाहरूलाई कुनै दलप्रति ढल्किने छुट नभएको बताएर दुबैलाई राजीनामा दिन दबाब बढाए।
वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त सुशासनको रहेको बताएका थिए। कार्यक्रममा सहभागी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने बताएका थिए। त्यसैको उत्तरमा उनले अहिले सरकारमा रहेकाहरू कसैलाई दलमा आबद्ध हुने हैन ढल्किने छुट समेत नभएको बताएका थिए।




प्रतिक्रिया दिनुहोस्