प्रगतिशील लोकतान्त्रिक पार्टीले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य पदका लागि जनार्दन शर्मा ‘प्रभाकर’लाई उम्मेदवार सिफारिस गरेको छ।
बुधबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले शर्मालाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो।
तत्कालीन नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादी पार्टी लगायतसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि त्यतिबेला पार्टीका उपमहासचिव रहेका शर्माले पार्टी छाडेर प्रगतिशील लोकतान्त्रिक अभियान घोषणा गरेका थिए।
पछि बाबुराम भट्टराईको नेसपा (नयाँ शक्ति)सँग एकता गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए। यद्यपि उनी पार्टी नेतृत्वमा भने छैनन्।
जनार्दनलाई पार्टीले अन्यत्र ठाउँबाट पनि उम्मेदवार सिफारिस गर्न सक्नेछन्। यद्यपि गृहजिल्ला भएका कारण पनि उनी रूकुम पश्चिमबाटै चुनाव लड्ने लगभग पक्कापक्की नै छ।
त्यसो हुँदा रूकुम पश्चिममा फागुन २१ गते चुनावी भिडन्त रोचक बन्ने देखिएको छ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीले गोपाल शर्मालाई एकल उम्मेदवार सिफारिस गरेको छ। माओवादी केन्द्रमा रहँदा गोपाल जनार्दन निकट मानिन्थे।
गोपाल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि पाँच वर्ष कर्णाली प्रदेशको अर्थमन्त्री बनेका थिए। उनका निकटहरूबीच गोपाल जनार्दनलाई आफ्नो राजनीतिक गुरू मान्छन् भन्ने चर्चा पनि छ।
अब राजनीतिक गुरू-चेला नै आमनेसामने हुने भएपछि रूकुम पश्चिममा दुई उम्मेदवारबारे चर्चा र अड्कलबाजी सुरू भएको छ।
बिहीबार नै नेकपाले रुकुम पश्चिममा मोटरसाइकल र्यालीसहित प्रदर्शन गर्दैछ।
पुस २६ गते पार्टी एकताको सन्देश दिने भन्दै संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरू रुकुम पश्चिम आउने कार्यक्रम तय भएको प्रदेश कमिटी सदस्य सुन्दरी शर्माले जानकारी दिइन्।
त्यो कार्यक्रम एकता सन्देश सभा भन्दा चुनावी प्रचार र जनार्दनको विपक्षमा माहोल बनाउन लक्षित रहेको जनार्दन निकटहरू बताउँछन्।
यसअघि पनि जिल्लामा पार्टी कार्यालय उद्घाटनका क्रममा दुवै पक्षले मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेका थिए।
रूकुम तत्कालीन नेकपा माओवादीको उद्गम र आधार क्षेत्र मानिन्छ।
यहाँ जनार्दन शर्मा २०४८ देखि निर्वाचन लड्दै आएका छन्। त्यति बेला भने उनी जनमोर्चाको तारा चुनाव चिह्नबाट उम्मेदवार थिए। त्यतिबेला भने कांग्रेस नेता तथा पूर्वमन्त्री गोपालजंग शाहसँग पराजित भएका थिए।
२०६४ यता भने उनी लगातार अपराजित छन्।
यसपालिको चुनावी नतिजाले प्रचण्डको साथ छाडेपछि त्यसको असर जनार्दनलाई व्यक्तिगत रूपमा कति पर्यो भन्ने पनि देखाउनेछ।
पूर्व माओवादीहरू विभाजित भई आमनेसामने उभिएको अवस्थामा फरक विचारधाराका कतिपयले मत विभाजनको फाइदा नेपाली कांग्रेस वा नेकपा एमालेजस्ता पुराना दललाई पुग्ने अनुमान गरेका छन्।
नेपाली कांग्रेसले मंसिर २९ मै उम्मेदवार सिफारिस गरिसकेको छ।
कांग्रेसले फागुन २१ को निर्वाचनका लागि पहिलो नम्बरमा जिल्ला सभापति प्रेमप्रकाश ओली, दोस्रो नम्बरमा गोपालजी जंग शाह र तेस्रो नम्बरमा लेकमाया केसीको नाम सिफारिस गरेको छ।
नेकपा एमालेले भने पुस २ गते नन्दराम देवकोटाको नाम एकल रूपमा सिफारिस गरेको थियो।




प्रतिक्रिया दिनुहोस्