सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौं गएका थिए । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै थिए ।
योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रूपमा प्रत्येक दिनजसो भाइलाई फोन गरिरहन्थे । दाजुभाइबीच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थे । गत २३ भदौमा काठमाडौंमा जेनजी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो ।
सोक्रममा प्रहरी र विद्यार्थी झडप भयो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ठूलो संख्यामा आन्दोलनकारी युवा विद्यार्थीको निधन भयो । सोही घटनाका विषयलाई लिएर भोलिपल्ट काठमाडौंसहित देशभर विरोध प्रदर्शन भयो ।
योगबहादुर त्यसदिनको विरोध प्रदर्शनमा सामेल थिए । गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । २४ भदौको दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौंको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे । फोन उठे पनि तर त्यो आवाज भाइको थिएन ।
‘भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेका रहेछन्, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौँ, उनलाई रातभर काठमाडौंका अस्पतालमा खोज्यौँ, पछि बुझ्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा भाइको शव फेला पर्यो,’ गहभरि आँसु पार्दै रामकृष्णले भने ।
योगबहादुरलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको रहेछ । ‘भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुपर्यो, जसले सिङ्गो परिवार मर्माहत त भएको छ, त्यससँगै बलिदानी खेर जाला भन्ने चिन्ताले पिरोलेको छ,’ दाजु रामकृष्णले भने । योगबहादुर जेनजी आन्दोलनमा सहभागी भएका बारेमा परिवारजनलाई थाहै थिएन । परिवारजनलाई भाइ कोठामै बसेको होला भन्ने लागेको थियो । ‘उ आन्दोलनमा गएको हामीलाई पछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,’ रामकृष्णले भने ।
गाउँमै हुँदा पनि योगबहादुर दुःखी गरिबको सेवामा तल्लीन थिए । विपन्न र उपचार नपाएर नागरिकको मृत्यु भएका घटनाले उनलाई घोचिरहने गर्थ्यो । योगबहादुर पुतलीसडकमा फुपूको घरमा बसे । योगबहादुरको निधनको खबर सुनेपछि कामका सिलसिलामा बाह्रबिसे बजार झरेका दाजु रामकृष्ण सबै काम छाडेर हत्तपत्त घर फर्किए । काठमाडौंमा भएका आफन्तलाई फोन गरेर भाइका बारेमा बुझ्न आग्रह गरे । तर, भाइको बारेमा केही जानकारी पत्ता लागेन । त्यो दिन सम्झँदै दाजु रामकृष्ण भन्छन्, ‘त्यो दिन भाइको अवस्था पत्ता लगाउनै सकिएन ।’
भाइको मोबाइल, कलेजको परिचयपत्र केही नहुँदा अस्पतालले समेत पहिचान गरेर जानकारी दिन सकेनन् । रातिसम्मै आफन्त र साथीसँग सोधपुछ चलिरह्यो । कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उनको परिवार आत्तिन्थ्यो । रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन । २५ भदौको बिहानै बुबा तिलकबहादुर र आमा देवीमायासहित परिवारजन काठमाडौं पुगे ।
‘त्यहाँ गएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाएँ । त्यहाँ गएँ तर योगबहादुर भेटिएनन् । अस्पताल–अस्पताल चहार्दै गएँ । घाइते र शव दुवै हेर्न थाले । जब शिक्षण अस्पतालको शवघर पुगेँ, त्यहाँ योगबहादुरको शव भेटियो’, दाजु रामकृष्णले भने ।
घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई खुसी र सुखी राख्ने सपना थियो । रामकृष्णका अनुसार योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध थिएनन् । जेनजी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन ।
२३ भदौमा काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन भाइलाई फोन गरेका थिए । उनलाई योगबहादुर कोठामै छ होला भन्ने लाग्थ्यो । ‘तर, अब उ त गइसक्यो । भाइको बलिदान खेर नजाओस् भन्ने परिवारको चाहना छ’, दाजु रामकृष्णले भने ।
सहिद परिवार व्यक्तिगतभन्दा पनि सामूहिकरूपमै अगाडि बढ्नुपर्ने रामकृष्णको धारणा छ । जेनजी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उनी बताउँछन् । ‘यति ठूलो बलिदान, पुरानै नेता र दललाई प्राथमिकता दिन भएको होइन, निर्वाचनबाट नयाँ शक्ति आउनैपर्छ’, उनले भने ।
जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ ।
जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरूप १५ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।




प्रतिक्रिया दिनुहोस्