धनगढी । नेपाल चिकित्सक संघ (एनएमए) को उपाध्यक्ष पदका लागि वरिष्ठ अर्थोपेडिक सर्जन तथा स्वास्थ्य प्रशासक डा. प्रमोद जोशी चुनावी मैदानमा उत्रिएका छन् ।
२५ वर्षभन्दा बढी समयदेखि नेपाली स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय डा. जोशी हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का कार्यकारी प्रमुख तथा सदस्य–सचिवका रूपमा कार्यरत छन्। उनी गेटा अस्पतालका पहिलो संस्थापक निर्देशक तथा राष्ट्रिय ट्रमा सेन्टरका पूर्व प्रमुख मेडिकल सुपरिटेन्डेन्ट समेत हुन् ।
विदेशमा अध्ययन गरेर पनि नेपालमै सेवा गर्ने अठोट लिएका डा. जोशीले सन् २००० मा युक्रेनबाट एमबीबीएस पूरा गरेपछि नेपाल फर्किएर सरकारी सेवामा काम सुरु गरेका थिए । त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका आपतकालीन कक्षमा काम गर्दा उनले ट्रमा तथा इमर्जेन्सी सेवाको व्यावहारिक अनुभव हासिल गरेका छन् ।
२००५ देखि २००७ सम्म दार्चुला जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत रहँदा उनले दुर्गम स्वास्थ्य सेवाका चुनौती नजिकबाट बुझेका छन् । त्यसपछि सन् २००९ मा अर्थोपेडिक सर्जरी तथा ट्रमामा स्नातकोत्तर पूरा गरी करिब एक दशक सेती प्रादेशिक अस्पताल, कैलालीमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा सेवा गरेका छन् ।
सुदूरपश्चिममा रहँदा उनी नेपाल चिकित्सक संघ सेती शाखाका अध्यक्ष तथा नेपाल अर्थोपेडिक एसोसिएसन सुदूरपश्चिम शाखाका संस्थापक अध्यक्ष समेत बने । सन् २०११ मा भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आथ्र्रोप्लास्टी तथा आथ्र्रोस्कोपीमा फेलोसिप प्राप्त गरेका डा. जोशीले सो सीप नेपालमै प्रयोग गर्दै आएका छन् ।

सन् २०१९ मा राष्ट्रिय ट्रमा सेन्टर पुगेका उनले उपचारसँगै अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हाले। त्यसपछि सन् २०२२ मा गेटा अस्पतालको पहिलो निर्देशक नियुक्त भई शिक्षण अस्पतालका लागि आवश्यक संरचना तथा सेवा प्रणाली निर्माणमा नेतृत्व गरेका थिए । ‘डाक्टर बन्नु सुविधा खोज्नु मात्र नभए सेवा गर्नु हो’ भन्ने मान्यता राख्ने जोशीले चिकित्सा क्षेत्रबाटै मुलुकको आर्थिक समृद्धिको समेत मार्गचित्र तयार गरेका छन् ।
अनुसन्धान क्षेत्रसँग समेत जोडिएका डा. जोशी सन् २०२४ देखि एनएचआरसीका कार्यकारी प्रमुख तथा सदस्य–सचिवको जिम्मेवारीमा छन् । दुर्घटना, नसर्ने रोग, संक्रमण, जलवायु परिवर्तन र क्यान्सरसम्बन्धी उनका अनुसन्धानले नीति निर्माणमा योगदान पुर्याउँदै आाएको परिषद्को भनाइ छ ।
उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै डा. जोशीले चिकित्सकको पेशागत सुरक्षाका विषय, उपत्यका बाहिर कार्यरत चिकित्सकको प्रतिनिधित्व तथा स्वास्थ्य नीतिमा संघको प्रभावकारी भूमिका आफ्नो प्राथमिकता रहने बताएका छन् ।
नेपाल चिकित्सक संघको आगामी निर्वाचनमा उनको उम्मेदवारीलाई अनुभवी चिकित्सक तथा स्वास्थ्य प्रशासकको रूपमा हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्