धनगढी । बन्ने भन्दा भन्दै वर्षौं बितिसक्दा पनि खास प्रगति नभएपछि फाप्ला क्रिकेट रंगशाला बन्छ भन्नेमा धेरैलाई शंका छ ।
नेताका भाषण र घोषणा पत्रमा अटाए पनि बजेटमा नअटाउँदा फाप्ला क्रिकेट रंगशाला निर्माणको काम अलपत्र छ । क्रिकेटको क्रेज दिन दुई गुणा र रात चौगुणा बढे पनि सुविधासम्पन्न खेल मैदान नहुँदा खेलाडीहरुमा खेलाडी बन्ने हुटहुटी भन्दा बढी अन्यौलता बढी देखिन थालेको छ ।
तर पनि प्रदेश सरकारको गौरवको आयोजना र संघीय सरकारको बजेटमै परिसकेको आयोजना भएकाले फाप्ला अन्तराष्ट्रिय खेल मैदान तथा खेल ग्राम बन्छ भन्नेमा नागरिकको आश जिउँदै छ ।
यता फाप्ला विकास समितिका अध्यक्ष सुबास शाहीले पनि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम बन्ने दाबी गरेका छन् ।
शाहीका अनुसार फाप्लामा अन्तराष्ट्रिय खेल मैदान बनाउने अभियान सन् २०१५ मा सुरु भएको थियो । अभियान सुरु भएको करिब ७ वर्षपछि नेपाल सरकारबाट जग्गा प्राप्त भएको थियो । त्यसपछि सरकारले स्वायत्त विकास समिति बनाउने निर्णय गरी सोही अनुसार समिति पनि गठन गरिएको थियो ।
हाल फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको डिपिआर तयार भइसकेको छ भने पूर्वाधार निर्माण विकास समितिबाट स्वीकृत समेत भइसकेको शाहीले बताएका छन् ।
यसरी डिपिआर तयार भएर स्वीकृत हुनु तथा सरकारी बजेटबाटै आधारभूत पूर्वाधार निर्माण हुनु ठूलो प्रगति भएको शाहीको भनाई छ । ‘डिपिआर तयार भएर स्वीकृत भइसकेको छ । आयोजनाको बेस तयार भइसकेको छ । यति हुनु भनेको ८० प्रतिशत काम भएजस्तै हो’, उनले भने, ‘अब आउँदा दिनमा सरकारले कसरी आयोजना अघि बढाउँछ, त्यसले कति छिटो आयोजना सम्पन्न हुन्छ भन्ने थाहा हुन्छ ।’
शाहीले स्थानीय, प्रदेश र संघ सरकारले प्राथमिकतामा राखेर फाप्ला आयोजना सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले यो आयोजना धनगढी वा सुदूरपश्चिम मात्र भएर सिंगो देशकै लागि गौरवको आयोजना हुने पनि बताएका छन् ।
अहिले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम निर्माणमा विदेशी सहयोग ल्याउने बाटो खुला भइसकेकोले सो तर्फ पनि पहल गरिरहेको शाहीले बताएका छन् । उनले यो आयोजना बन्ने र जसरी बन्नुपर्छ भन्दै आफूहरु लागिरहेको पनि बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्