काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्ने उद्देश्यले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । उनले पार्टीलाई सही दिशा र ठिक ठाउँमा उभ्याउनु नै आफूहरूको मुख्य चाहना भएको बताए।
बुधबार बुद्धिजीवीहरूसँगको छलफलका क्रममा महामन्त्री थापाले केही नेताहरूले आफूहरू सभापति बन्नका लागि पार्टीभित्र विरोध गरिरहेको आरोप लगाएको उल्लेख गर्दै त्यस्तो आरोप निराधार रहेको बताए। उनले आफूहरूलाई सभापति बन्ने कुनै चाहना नरहेको प्रष्ट पारे।
महामन्त्री थापाले सभापति बन्न चाहने जो कोही पनि बन्न सक्ने भन्दै डा. शेखर कोइराला वा अन्य कुनै नेताले नेतृत्व लिन चाहे त्यसमा आफूहरूको आपत्ति नरहेको बताए। तर नेतृत्व जुनसुकै भए पनि पार्टी सही बाटोमा उभिनु अनिवार्य भएको उनको भनाइ थियो।
उनले पार्टीभित्र व्याप्त कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गर्दै कांग्रेस अब सिद्धान्त, उद्देश्य र मूल्यमा फर्किनुपर्नेमा जोड दिए।
महामन्त्री थापाले भने,‘२३ र २४ गतेपछि देशका मुख्य दलहरूमा दुई खालका धारणा आए। एउटा— हामी नै सधैं ठिक थियौँ भन्ने। अर्को— हामी उभिएको ठाउँ नै ठिक थिएन भन्ने। हामीले दोस्रो कुरा भन्यौँ। हाम्रो गति र दिशा ठिक थिएन। नागरिकमा रिस थियो, त्यसका कारण छन्, त्यसलाई बुझ्नुपर्छ।’
उनले पार्टी सुधारका लागि आत्मसमीक्षा आवश्यक रहेको भन्दै हतारमा अरूलाई हटाएर सभापति बन्न खोजिएको भन्ने आरोप गलत भएको जिकिर गरे।
‘हामीलाई सभापति बन्नै छैन। को बन्न चाहनुहुन्छ, बन्नुस्। डा. शेखर कोइराला बन्न चाहनुहुन्छ, बन्नुस्। अरू नेता बन्न चाहनुहुन्छ, बन्नुस्। तर पार्टीलाई ठिक ठाउँमा उभ्याउनुपर्छ,’ महामन्त्री थापाले भने।
महामन्त्री थापाले संस्था जोगाउँदै परिवर्तनको एजेन्डा नमार्ने गरी अघि बढ्ने आफूहरूको लक्ष्य रहेको बताउँदै कांग्रेसलाई पुनः जनताको भरोसायोग्य ठूलो पार्टी बनाउनु नै एकमात्र उद्देश्य भएको स्पष्ट पारे।




प्रतिक्रिया दिनुहोस्