काठमाडौ – वीपी कोइरालाको विरासतमा उभिएको नेपाली कांग्रेस यतिबेला ठूलो आन्तरिक कलहमा फसेको छ । उसले आफ्नो सांगठनिक जीवनलाई व्यवस्थित गर्न सकिरहेको छैन । वीपी र मातृका दुई दाजुभाइको इगोले विभाजनको बीय रोपिएको थियो । त्यसपछि मातृका सदाको लागि कांग्रेसबाट बाहिरिए । पहिले समान्यतया दुईवटा गुटको प्रतिष्प्रधा हुँदै आएकोमा अहिले अनेक गुटहरुको अस्तित्व देखिएको छ । यतिबेला कांग्रेस महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादमा फसेको छ । नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्ने माग बढ्दै गएको सन्दर्भमा जेनजि आन्दोलनले त्यो मागलाई झनै चर्को बनायो ।
यो विवदालाय सल्टाउन कांग्रेसले देशैभरि हस्ताक्षर अभियान चलाएको थियो । पार्टीका महामन्त्रीहरुको अगुवाइमा भएको हस्ताक्षर अभियानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागलाई समर्थन गरेका थिए । त्यसैले विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा युद्धस्तरको तयारीमा जुटेका छन् । तर, थापाको प्रस्तावलाई कांग्रेस केन्द्रीय कार्यसमितिको अधिक बहुमतले अस्वीकार गर्दै आएको छ ।
यतिबेला कांग्रेसमा गुटको लडाई तीब्र भएको छ । नेवापिच्छेका गुटहरुले कार्यकर्ता पंक्तिमा निराशा समेत छाएको छ । छुट्टै गुट चलाएका पार्टी पूर्व महामन्त्री कृष्ण सिटौलाले महामन्त्री थापाले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव व्यक्तिगत भएको बताएका छन् । उनले विशेष महाधिवेशन कुनै हालतमा नहुने दाबीसमेत गरेका छन् । यता, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पनि वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताउँदै आएका छन् ।
पुस १८ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतबाट निर्णय गर्दै १५ औँ महाधिवेशन २०८३ वैशाख २८–३१ मा गर्ने निर्णय गरेपछि महामन्त्रीद्वय थापा र शर्माले पुसमै विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए । यसैबीच, मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेशदेखि वडासम्मका सबै संरचनालाई वैशाख २८–३१ मा नियमित महाधिवेशन हुने जानकारी दिँदै सोमबार परिपत्र गरिसकेका छन्।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई ‘संकल्प सभा’मा रूपान्तरण गर्ने अस्त्र पनि प्रयोग गरेको छ । संकल्प सभालाई दुवै पक्षको मिलन विन्दु बनाउने प्रयास गरिएको छ । तर यसले समस्याको समाधान गर्ने सम्भावना छैन । पार्टीको युवा पंक्ति पुरानो नेतृत्वलाई जसरी पनि विस्थापित गर्ने अभियानमा रहेको छ । यो पंक्ति गगगन–विश्वको पक्षमा रहेको छ । विशेष महाधिवेशनपक्षधर युवाहरुको समूहले पार्टी कार्यालयमा नेता विमलेन्द्र निधीमाथि आक्रोश पोख्दै अभद्र व्यवहार समेत गरेको थियो । आजको कांग्रेस गिरिजा प्रसाद कोइरालाको पालाको जस्तो छैन । शेर बहादुर देउवाबाट अब पार्टीको नेतृत्व हुन नसक्ने भन्दै युवा नेताहरु विकल्पको खोजिमा रहेको कांग्रेसमा बहस हुन थालेको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले महामन्त्री थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने प्रस्ताव स्वीकृत भए मात्र संकल्प प्रस्तावमा सहमति हुनसक्ने सुझाव दिएका छन्। तर, सभापति देउवा र कार्यवाहक सभापति खड्का यो प्रस्तावलाई खासै महत्व दिएका छैनन् । यसबाट देउवा अझै पार्टीलाई आफ्नो कब्जामा राख्ने रणनीतिमै छन भन्ने बुभिन्छ ।
नेपाली कांग्रेस मात्र होइन एमाले र प्रचण्ड समूह पनि नेतृत्व हस्तान्तरणको पक्षमा छैनन् । उनीहरु त्यत्रो आन्दोलन भएर पनि मुलुकमा केही नभएको जस्तो अभिनय गरिरहेका छन् । कांग्रेस पनि उनीहरुको गतिविधिले उत्साहित भएको हुुनुपर्दछ । यसै सन्दर्भमा संस्थापनपक्षीय एक केन्द्रीय सदस्य भन्छन्, ‘जेनजी आन्दोलनपछिको परिवर्तित सन्दर्भमा नीति र एजेन्डा तय गर्ने गरी संकल्प सम्मेलन अघि बढे सभापति देउवा पनि भृकुटीमण्डप पुग्नसक्ने र परिस्थिति नाटकीय मोडमा जान सक्छ।’
तर, महामन्त्री थापाले विशेष महाधिवेशनको दस्तावेज लेखन सुरु गरिसकेकाले यो प्रक्रिया रोकिने वा भाँडिने सम्भावना न्यून देखिन्छ। अनामनगरमा सम्पर्क कार्यालय खोल्दै थापा पक्षधरहरूले आन्तरिक तयारी तीव्र पारेका छन् भने भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको कामसमेत भइरहेको छ। दुवै समूहका यस प्रकारका गतिविधिबाट कार्यकर्ताहरु कतै पार्टी विभाजन हुन्छ कि भन्ने त्रासमा रहेका देखिन्छन् । बिगतमा विभाजनको अभ्यास भैसकेका दलहरुमा फेरि पनि विभाजन नहोला भन्न सकिन्न । तर विभाजनको पीडा भोगेका नेता कार्यकर्ताहरु जीवितै भएकोले तत्काल ठूलै दुर्घटना भैहाल्ला भन्ने अवस्था भने नरहेको एक पदाधिकारीले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्