राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनबाट दंगाल र देवकोटा उम्मेदवार

सारांश

  • राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा एमालेका डा. प्रेम प्रसाद दंगाल र कांग्रेसकी गीता देवकोटा उम्मेदवार बन्ने पक्का भएको छ।
  • सत्ता गठबन्धनबीच सिट बाँडफाँड अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ।
  • गीता देवकोटा कांग्रेसबाट महिला सिटमा उम्मेदवार बनेकी छिन् भने डा. दंगाल एमालेबाट उम्मेदवार बनेका हुन्।

मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका २ रिक्त सिटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका डा. प्रेम प्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा उम्मेदवार बन्ने निश्चित भएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित सत्ता गठबन्धनबिच भएको सिट बाँडफाँड अनुसार बागमतीका २ सिटमा एमाले र कांग्रेसले एक–एक उम्मेदवार उठाएका हुन् ।

देशभर रिक्त हुने १८ सिटमध्ये सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ । माओवादी केन्द्र (हाल नेकपा) गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ दलहरूले नयाँ समीकरण अनुसार सिट बाँडफाँड गरेका हुन् । सोही अनुसार बागमती तर्फको २ सिटमा डा. दंगाल र देवकोटालाई उम्मेदवार बनाइएको हो ।

नेपाली कांग्रेसले बागमती प्रदेशको महिला सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी ५१ वर्षीय देवकोटा विगत ३२ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । हाल कांग्रेसको महासमिति सदस्य रहेकी उनी व्यावसायिक मौरीपालक कृषक समेत हुन् । एकल महिला देवकोटाले नेविसंघ, तरुण दल र महिला संघका विभिन्न जिम्मेवारी सम्हालिसकेकी छिन् ।

एमालेको तर्फबाट उम्मेदवार बनेका डा. दंगाल पार्टीका केन्द्रीय सदस्य हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने दंगाल यसअघि राष्ट्रिय योजना आयोगको सदस्य र २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भइसकेका छन् । डा. दंगाल अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तथा एसियाली किसान मञ्चका अध्यक्ष समेत हुन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार डा. दंगाल र देवकोटाले आजै हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

आयोगले पुस १९ गते नै मतदाता नामावली प्रकाशन गरिसकेको छ भने माघ ११ गते मतदान हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार