धनगढी । नेताका भाषण, चुनावका घोषणा पत्र र सरकारका आश्वासनमा फाप्ला क्रिकेट मैदानले राम्रै ठाउँ पायो ।
अझ देशभर क्रिकेटको क्रेज चर्किरहेका बेला धनगढीमै अन्तराष्ट्रिय क्रिकेट रंगशाला बन्ने कुराले समग्र सुदूरपश्चिम नै उत्साहित थियो । खेलाडीहरुमा खुसी झल्किन्थ्यो भने खेलप्रतिको लगाव झनै बढ्दै थियो ।
त्यसैमाथि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समावेश गरेरै फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदानलाई बजेटमै समावेश गरेको थियो । आर्थिक वर्ष २०७६ ७७ मा प्रदेश सरकारले ६० लाख रुपैयाँ खर्च गरेर मैदान घेरबार गरेको थियो ।
तर संरक्षणको अभाव र निर्माणले निरन्तरता नपाउँदा अहिले अन्तराष्ट्रिय स्तरको रंगशाला बन्ने भनिएको फाप्ला खेल मैदान गौचरनमा परिणत भएको छ ।

त्यसो त प्रदेश सरकारले फाप्ला मैदानलाई अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाउन प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । तर विनियोजन गरिएको बजेट खर्च भने हुन सकेको छैन ।
यता संघीय सरकारले समेत फाप्ला क्रिकेट मैदानलाई २०७९ बैशाख २६ गते अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने घोषणा गरेको थियो । त्यसपछि सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति गठनादेश जारी गरी समिति समेत गठन गरिसकेको छ । त्यसयता प्रदेश सरकारले फाप्ला क्रिकेट मैदान निर्माणका लागि बजेट विनियोजन गरेको छैन ।
यसरी प्रदेश र संघीय सरकारको बजेटमा परेर समेत निर्माण अघि नबढेपछि अहिले फाप्ला क्रिकेट मैदान निर्माणको काम अलपत्र परेको छ ।

खेल मैदान निर्माणको काम अलपत्र परेपछि क्रिकेटमा भविष्य देख्नेहरु पनि निराश छन् । देशभर विभिन्न ठाउँमा आफ्नै होम ग्राउन्ड बनिरहेको बेला फाप्ला क्रिकेट रंगशाला निर्माणको काम रोकिनु दुःखद भएको खेलाडीहरु बताउँछन् ।
नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्समार्फत खेलेका हिक्मत बोहोराले मैदान निर्माण नहुँदा सुदूरपश्चिमको क्रिकेटमा ठूलो धक्का लागेको बताएका छन् । उनले सुविधासम्पन्न खेल मैदान हुने हो भने ग्रासरुट लेबलबाट पनि खेलाडी उत्पादनमा सहज हुने बताएका छन् । मैदान हुने हो भने ग्रासरुटबाट पनि खेलाडी उत्पादन गर्न सकिन्थ्यो । उनले भने, ढिलो त भयो नै तर अब जतिसक्दो छिटो बनाउनुपर्छ ।




प्रतिक्रिया दिनुहोस्