काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल सौर्य विद्युत उत्पादक संघको २५औँ वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
‘सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ,यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्थ्यो,’ उनले भने। मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको बताए।
उनले देशभर रहेका सिँचाइका नहरमा सौर्य ऊर्जा उत्पादनका लागि सरकारले अध्ययन गरिरहेको बताए। उनले भने,‘सिँचाइका नहरमाथि सौर्य उत्पादन गरेर कसरी निजी क्षेत्रलाई समावेश गर्न सकिन्छ भनेर सरकार लागिरहेको छ।’
उनले छिमेकी मुलुक भारतमा एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको बताउँदै नेपालको पहाडी भूभागमा रहेका डाँडाहरुको प्रयोग गरेर नेपालमा पनि सौर्य ऊर्जा उत्पादनलाई बढाउन सकिने बताए।
भारतमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी प्रसारण लाइन निर्माण भइरहेको उनको भनाइ थियो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनको असरले खोलाहरू सुक्दै जाँदा विद्युत् उत्पादनमा असर परिरहेको बताए।
आगामी दिनमा नेपालले सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। उपाध्यक्ष श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनालाई नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले सरकारले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको बताए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालभित्र विद्युत्को पहुँच नपुगेका दुरदराजको क्षेत्रमा सौर्य ऊर्जा पुर्याउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा उत्पादनलाई मर्यादित र व्यवस्थित बनाउन संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।




प्रतिक्रिया दिनुहोस्