काठमाडौं । कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि डेरामै बसिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय अधिक सक्रिय देखिएका छन् ।
उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन, मधेसकेन्द्रित दलका प्रमुख नेता भेटिरहेका छन् । देउवा पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री आरजू राणा देउवा सोमबार नै दिल्ली पुगेकी छन् ।
उपचारका लागि भनिए पनि राजनीतिक भेटवार्ताका लागि उनी दिल्ली पुगेको स्रोत बताउँछ ।
ओलीले देउवालाई महाराजगन्जस्थित निवासमा पुगेर दुईपल्ट भेट गरे । राष्ट्रियसभा हुँदै प्रतिनिधिसभा चुनावसम्मै गठबन्धन गर्दै ‘संविधान र लोकतन्त्र जोगाउनुपर्ने’ प्रस्ताव गरिसकेको देउवा निकट नेताहरुको टिप्पणी छ ।
मधेसकेन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेपछि फेरि कांग्रेसमा भित्र्याउन लागेको चर्चासमेत चुलियो । तर, देउवाले उनीहरूलाई मधेस आन्दोलनका क्रममा मुद्दा राजनीतिक सम्बोधनमार्फत मिलाउन आग्रह गर्न आएको बताएका छन् ।
‘राजनीतिक तहबाट नमिल्ने कुरा कसरी मिल्छ र ?’ उनले निकटहरूसँग भन्ने गरेका छन्, “लामो समयदेखि उहाँहरूले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा जुनसुकै प्रकृतिका भए पनि राजनीतिक आधारमा भएको भनेर फिर्ता गर्ने माग गर्दै आउनुभएको छ ।”
देउवाले निवासमै केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीसँग पनि भेट गरेका थिए । देउवाले निकटहरूसँग पनि उक्त भेटवार्ताका विषय खुलाएनन् । त्यसबाहेक कांग्रेसका युवा समूहहरू, फरक विचारका व्यक्तिहरूले देउवाकहाँ स्वास्थ्य लाभको कामना गर्ने बहानामा होस् वा अन्य बहानामा भेटवार्ता गरिरहेका छन् ।
समानुपातिक बन्दसूची पेश गर्नुपूर्व त देउवा झन्डै–झन्डै बुढानीलकण्ठ निवासजत्तिकै व्यस्त बनेको जानकार बताउँछन् । कांग्रेस संस्थापन पक्षको बैठक महाराजगन्जमै हुन्छ । त्यहाँ एक खालको निर्णय गरेपछि सानेपा पुगेर औपचारिकतामा बदलिन्छ ।
देउवा किन निस्क्रिय थिए ?
जेनजी आन्दोलनका क्रममा भदौ २४ मा घरमै कुटिएपछि देउवा लामो समय उपचारमा रहे । जबर्जस्ती घरमा प्रवेश गरेर कुटपिट र लुटपाट गर्नेहरूले घर जलाइदिएपछि देउवासँग फर्कने ठाउँ समेत थिएन ।
उनले पार्टी कार्यालयबाट नजिक हुनेगरी बस्न ललितपुरमै उपयुक्त घर खोज्न आग्रह गरेका थिए । तर खोजीका मापदण्डअनुसारको घर भेटिएन । महाराजगन्जमा उनी असोज २१ मा सरेका हुन् । जेनजी आन्दोलनपछि देउवा असोज २८ मा सार्वजनिक भएका थिए ।
असोज २४ का लागि डाकिएको केन्द्रीय समिति बैठक सर्दै २८ मा पुगेको थियो । २८ मा पनि देउवा बैठकमा गए पुनः ‘आक्रमण हुन सक्ने’ हल्ला चलेको थियो । बैठकमा निस्कनुअघि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।
असोज २८ गते बोलाइएको बैठकमा उनले लिखित सम्बोधन गरे । त्यसबाहेक सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिसहित गहिरो छानबिन गर्नुपर्ने माग राखेका थिए । उनले स्वास्थ्यका कारण कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएको घोषणा गरेका थिए ।
‘पार्टी राम्रोसँग चलाउनुहोला, स्वास्थ्यका कारण यो जिम्मेवारी तपाईँलाई सुम्पिएको छु,’ भन्दै असोज २८ मा सानेपाबाट बाहिरिएका देउवा त्यसपछि पार्टी कार्यालय फर्केका छैनन् ।
तर उनले पार्टी सत्ता भने निवास महाराजगन्जबाटै चलाइरहेका छन् ।
उनले विशेष महाधिवेशनको पक्षमा रहेका महामन्त्रीद्वयबाहेक आफ्नो समूहमा रहेका नेताहरुसँग हरेक दिन छलफल गर्ने गरेका छन् । तर औपचारिक निर्णय गर्ने बैठकमा भने अनुपस्थित छन् । यसलाई इतर समूहले ‘महाराजगन्जबाट चलिरहेको सत्ता’ भनेका छन् ।




प्रतिक्रिया दिनुहोस्