प्रचण्ड पूर्वी रूकुमबाट उम्मेदवार हुनेबारे छलफल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जिल्लाका नेताहरूले पूर्वी रूकुमबाट उम्मेदवार हुनेबारे छलफल गरेका छन्।

पूर्वी रूकुम अध्यक्ष कुमारी बराल गौतमसहितका नेताहरूले संयोजक प्रचण्डसँग आइतबार छलफल गरेका थिए। संयोजक प्रचण्ड आइतबार साँझ दिल्ली गएका छन्। त्यसअघि उनले रूकुम पूर्वका नेताहरूसँग त्यहाँबाट उम्मेदवार बन्ने विषयमा छलफल गरेको नेता सरल सहयात्री पौडेलले जानकारी दिए।

अध्यक्ष प्रचण्ड रूकुम पूर्वसहित १० ठाउँबाट उम्मेदवार सिफारिस भएका छन्। प्रचण्ड कालिकोट, कास्की–३, नुवाकोट–१, सिन्धुली–२,  रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, कैलाली–३ बाट उम्मेदवार सिफारिस भएका छन्। कतै एकल र कतै उनीसहितको नाम केन्द्रमा सिफारिस भएर आएको छ।

‘उम्मेदवार सिफारिस भएर आएका ठाउँका साथीहरूले उहाँ आइदिए हुन्थ्यो भन्ने ठान्नु, त्यसअनुसार छलफल गर्नु स्वाभाविक नै हो,’ पौडेलले भने, ‘तर उहाँले निर्णय गरिसक्नुभएको छैन। सम्भवतः यो महिनाको अन्त्यसम्म उहाँले निर्णय गर्नुहुनेछ।’

सरल सहयात्रीका अनुसार रूकुम पूर्वका नेताहरूले प्रचण्डका लागि त्यहाँ सुरक्षित हुने ठानेका छन्। ‘जनयुद्ध’ कालमा आधार इलाका रूपमा परिचित पूर्वी रूकुममा प्रचण्ड उम्मेदवार बने चुनाव जित्न सहज हुने आकलन स्थानीय नेताले गरेको हुनाले छलफल तीव्र बनाएको सहयात्रीले बताए।

‘पूर्वी रूकुममा तुलनात्मक रूपमा सहज हुन्छ भनेर चर्चा चलेको हो, टुंगो भने लागिसकेको छैन,’ उनले भने।

संयोजक प्रचण्डले चुनावैपिच्छे निर्वाचन क्षेत्र फेरेर उम्मेदवार बन्ने छवि बनाएका छन्। २०६४को पहिलो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार बनेका थिए। दुवै ठाउँबाट चुनाव जितेका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी सिराहाबाट मात्रै निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा उनी चितवन–३ बाट उम्मेदवार भई निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनी विजयी भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार