रुपन्देही । बहुविवाहको अभियोगमा पक्राउ परेका नवलपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बहुविवाहसम्बन्धी उजुरी परेपछि डिएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू दुवै मंसिरको तेस्रो हप्ता रुपन्देही प्रहरीसमक्ष पुगेका थिए ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक्यमणि अर्यालको इजलासबाट नेपाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् । तर उनीसँगै पक्राउ परेकी असई गीता पुरीलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
डिएसपी नेपालको जेठी पत्नी तारा नेपाल खनालले श्रीमानले बहुविवाह गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो मुद्दा अदालतमा गएको हो ।
डिएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने गीता पुरी बुटवलस्थित धागो कारखानामा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत असई हुन् ।
अदालतमा डिएसपी नेपालले गीता पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’का क्रममा सन्तान जन्मिएको बयान दिएको एक कानुन व्यवसायीले जनाएका छन् ।
नेपालले पहिलेको श्रीमतीकै सल्लाहमा अर्को बिहे गरेको दाबी अदालतमा गरेका छन् । गीता पुरीतर्फ पनि ५ वर्षको छोरी र २ वर्षको छोरा रहेका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले अदालतको आदेशअनुसार मधु नेपाल पुर्पक्षका लागि कारागार गएको र गीता पुरी धरौटीमा रिहा भएको जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्