धनगढी: दुई वर्षअघि बैतडीको मेलौली नगरपालिका–७ काडाबाट उज्ज्वल भविष्य र परिवारको अवस्था सुधार्ने सपना बोकेर विदेशिएका ३२ वर्षीय मनोज सिंह भाटको रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएको पुष्टि भएको छ। डीएनए परीक्षणबाट उनको निधन यकिन भएपछि परिवार शोकमा डुबेको छ।
२०८० असोजतिर घरबाट हिँडेका मनोज सुरुमा परिवारसँग सम्पर्कमा थिए। मेलौलीकै दुई जना साथीसँगै रुस पुगेका उनी रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्ध क्षेत्रमा खटिएको कुरा धेरैपछि मात्रै परिवारले थाहा पाएको थियो। केही महिनापछि मनोजसँग सम्पर्क टुटेपछि परिवारले उनका साथीसँग सोधखोज गर्दा उनी युक्रेनी आक्रमणमा परेको खबर सुन्दै आएका थिए।
एकदेखि डेढ वर्षसम्म मनोजको अवस्था यकिन हुने आशामा परिवार पर्खाइमा थियो। अन्ततः लामो प्रतीक्षापछि उनको मृत्यु पुष्टि भएको खबरले परिवारलाई ठूलो पीडा दिएको छ।
मेलौली नगरपालिका–७ का अध्यक्ष रामचन्द्र भट्टले भने, ‘परिवारमा झिनो आश बाँकी नै थियो। लामो समयसम्म अवस्था स्पष्ट थिएन, तर हिजो मृत्यु पुष्टि भएको दुःखद खबर आयो।’
निधन पुष्टि भएपछि शनिबार परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको छ। रुसी सेनामा मेलौलीकै अन्य दुई जना पनि गएका थिए। तीमध्ये मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको गत वैशाखमै मृत्यु पुष्टि भइसकेको थियो भने मेलौली नगरपालिका–८ का अर्का एक जना भने केही महिनामै सकुशल घर फर्किएका थिए।
मनोज भाट परिवारका जेठा छोरा थिए। पारिवारिक अवस्था कमजोर रहेको र बुवाआमा खेतीकिसानीमा निर्भर रहेको बताइन्छ। रुस जानुअघि मनोज गाउँमै गाडी चलाउँदै आएका थिए। घरखर्च चलाउन मुस्किल भएपछि परिवारको सहारा बन्ने आशामा उनी रुसी सेनामा भर्ती हुन बाध्य भएका थिए। तर विदेशी युद्धभूमिमा उनको ज्यान गएपछि परिवार विक्षिप्त बनेको छ।




प्रतिक्रिया दिनुहोस्