झापा : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ।
पार्टीको आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए। झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो। ओली यही क्षेत्रबाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालको संसदीय चुनावमा निर्वाचित भएका थिए। तर, २०६० सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए। २०६४ सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको छ। उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बू, हिरा थापा र भोजकुमारी नेपालको नाम आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिए।
झापामा पाँचवटा निर्वाचन क्षेत्र छन्। झापा निर्वाचन क्षेत्र नं १, २ र ३ को उम्मेदवारको नाम आइतबारसम्ममा सिफारिस भइसक्ने उनले बताए। हरेक निर्वाचन क्षेत्रबाट अनिवार्य एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पार्टीले ‘सर्कुलर’ गरेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्