नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा जुटेपछि देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
उनले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्ज स्थित निवास बोलाएको स्रोतले जनाएको छ ।
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । बैठकमा महाधिवेशनको विषयमा छलफल गर्ने कार्यतालिका समेत रहेका बेला सभापति देउवाले उक्त बैठक बस्नु अघि पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
१६ पुस लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार नियमित अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गर्दै केही दिनभित्रै विशेष महाधिवेशन हुने घोषणा गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्