धनगढी । धनगढीमा अन्ततः भारतीय ट्याक्सी (पँहेलो नम्बर प्लेटका सवारी साधन) को रजगज बन्द हुने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पँहेलो नम्बर प्लेटका ट्याक्सी व्यवस्थित गर्ने सम्बन्धमा बसेको बैठकले नेपालमा भारतीय ट्याक्सी चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
त्यसो त धनगढीमा भारतीय ट्याक्सीको रजगज र मनपरीका विषयमा कल २४ न्युजले निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो ।
भारतीय ट्याक्सीहरुले धनगढीमा पार्किङ स्थल नै भाडामा लिएर अवैध रुपमा रात बिताउने गरेको तथ्यसहितको समाचार सम्प्रेषण गरेपछि भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयले त्यसतर्फ केही चासो देखाएको थियो । तर पनि भारतीय ट्याक्सीको चहलपहल धनगढीमा रोकिएको थिएन ।
अझ नेपालमै रात बिताउने भारतीय नम्बर प्लेटका ट्याक्सीहरु अवैध गतिविधिमा समेत संलग्न रहेको समाचार कल २४ न्युजले सम्प्रेषण गरेको थियो ।
स्थानीय प्रशासनको समन्वयमा यात्रु छोड्न धनगढीको चौराहसम्म पनि आउन मिल्ने व्यवस्था गरिएको भए पनि सो नियमको समेत उल्लंघन गर्दै भारतीय ट्याक्सीहरु निर्वाध रुपमा जिल्लाभर घुम्ने गरेका थिए । सो समाचार पनि कल २४ न्युजले सार्वजनिक गरेको थियो । तर पनि भारतीय ट्याक्सीको गतिविधि रोकिएको थिएन ।
तर अन्ततः जिल्ला प्रशासन कार्यालयले भारतीय ट्याक्सीलाई नेपाल छिर्नै प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
प्रशासनले सवारी तथा यातायात व्यवस्था एैन २०४९ को दफा ३० र सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७९ को दफा ३४ अनुसार यातायात सेवा सञ्चालन गर्ने उद्देश्य बाहेक विदेशमा दर्ता भएका सवारी साधनलाई नेपालमा सञ्चालन गर्न प्रतिबन्ध लगाएको छ ।
योसँगै अब कैलाली लगायतका जिल्लामा अवैध रुपमा चल्दै आएका भारतीय ट्याक्सीहरुको मनपरी रोकिने भएको छ । यसले जिल्लाको शान्ती सुरक्षा तथा यातायात क्षेत्रमा ठूलो प्रभाव पर्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्