काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो उनीहरुबीच हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल रहनेछन् । उक्त छलफल आगामी निर्वाचनका विषय केन्द्रित रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरूसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ ।
सोही सन्दर्भमा शुक्रबार नेपाल सरकारका प्रवक्ता तथा मन्त्री खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई उनीहरूको निवासमा पुगेर भेटवार्ता गरेका थिए ।
भेटका अवसरमा उनीहरूले सरकारलाई वर्तमान राजनीतिक निकासका लागि निर्वाचन एक मात्र विकल्प रहेकाले त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्