तिमी नजर नफेर,
बरु म बादलहरू कोट्याउन छोडिदिन्छु।
भाँचिएका परेला बोकेर
रुन मन सबैलाई कहिलेकाहीँ लाग्छ।
म जूनलाई भनिदिन्छु –
मेरो झ्यालअघि नआउनु
शितलतासङ्ग अब मेरो साथित्व
कहाँ बाँकी छ र?
मेरो कोठा त चिसोले कठ्याङ्ग्रिएर
बसिरहेको छ।
हेर्न नजर पसार,
म कागजको डुँगाझैँ
बिस्तारै गलिरहेकी छु,
सागरको साथ नपाएको एक्लो तुसारोझैँ!
कृपया, हामी सँगै–सँगै कदम चालौँ न,
बरु म आफ्ना पैतालालाई बुझाउँछु
काँडाले घोच्दा पनि उफ्… नगर
प्रेम कहिलेकाहीँ युद्ध घाइते सैनिकको
मौन सहनशक्तिजस्तै हुन्छ।
रेशमी सपनाहरूलाई भनिदिन्छु –
जाउ मधुकरकी मालतीकै सिरानिमा फुलिदेउ
मेरो विपना त अब शून्यताको धूवाँले धमिलो बनाएको छ।
गीतहरूलाई भनिदिन्छु –
सुरिलो भएर एकछिन मलाई नलोभ्याऊ!
गाइनेकिराको स्वर नै
मेरो लागि स्थायी ताल बनेको छ।
प्रेम बोकेर आउनेहरुलाई भनिदिन्छु –
म देवकोटाकी मुना हुँ
तर मेरो मदन भोटका हिमालमा होइन,
सहरको विलासीतामा हराएको चिहानजस्तै निर्वाक छ।
रम र ठमेलको भीडबाट थाकेको कुनै साँझ,
जुन साँझ – आकाशका धुम्मिएका आँखाहरू थकाइले निदाउन खोज्छन्,
त्यो साँझ पछ्यौरीको न्यानो सम्झिएर उ फर्किनेछ ।
शायद ढुकुटीमा भण्डारिएको अन्तिम पश्चातापझैँ
घामका पाइला पछ्याउँदै
मिर्मिरेमा दैलोसम्म आइपुग्ला कि!
त्यतिबेला म बूढो पालझैँ
च्याउरिएको छाला बिर्सेर
घाममा एकपटक फेरि टल्किन सक्छु,
हावामा एकपटक फेरि फर्फराउन सक्छु। ✍️ दीक्षा भट्ट





प्रतिक्रिया दिनुहोस्